logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • आइएमईले जिएमई रेमिटलाई गर्‍यो अधिग्रहण, साउन ३० गतेदेखि एकीकृत कारोबार हुने

    आइएमईले जिएमई रेमिटलाई गर्‍यो अधिग्रहण, साउन ३० गतेदेखि एकीकृत कारोबार हुने

    322
    Shares
    आइएमईले जिएमई रेमिटलाई गर्‍यो अधिग्रहण, साउन ३० गतेदेखि एकीकृत कारोबार हुने

    काठमाडौं । मुलुककै सबैभन्दा ठूलो रेमिट कम्पनी आइएमई लिमिटेडले जिएमई रेमिट प्रालिलाई प्राप्त (एक्विजिसन) गरेको छ ।

    प्राप्त प्रक्रिया पुरा गरेको कम्पनीले यही साउन ३० गतेदेखि आइएमई लिमिटेडको नाममा एकीकृत रेमिट कारोबार गर्ने भएको छ । एकीकृत कारोबार गर्न आइएमईले कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति पाएको छ ।

    नियामक नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार हुन लागेको हो । आइएमई र जिएमईले गत जेठ ९ गतेको विशेष साधारणसभाबाट एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको थियो । एक्विजिसनपछि आइएमईको बजार विस्तार भई कारोबार थप बढ्न गई अझ मजवुत रेमिट कम्पनी बन्ने भएको छ ।

    नेपालमा विदेशबाट रेमिट्यान्स भित्र्याउनेमा आइएमई पहिलो नम्बरमा रहेको छ । कूल रेमिट्यान्समा साढे २७ प्रतिशत हिस्सा आइएमईको छ । आइएमई लिमिटेड सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीको रूपमा सम्मानित भएको छ ।

    राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा गत वैशाख १५ गते आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीहरू मध्येबाट आइएमईलाई सम्मान गरिएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) खिलेन्द्र पौडेललाई सम्मान गरेका थिए ।

    आइएमई २४ वर्षमा प्रवेश गरेको छ । सन् २००१ मा व्यसायीक चन्द्रप्रसाद ढकालले इन्टरनेसन मनी एक्सप्रेसको स्थापना गरेका हुन् । कम्पनीको नाम परिवर्तन भएर आइएमई लिमिटेड बनेको हो । ढकालले आइएमईको नाममा ठूलो व्यवसायिक साम्राज्य खडा गरेका छन् । ग्रुपको बैंक, बिमा, जलविद्युत, होटल, केबुलकार, कागज उद्योगलगायतमा ठूलो लगानी छ ।

    आइएमईले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त दिइसकेको छ । आइएमईले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

    आइएमई लिमिटेडले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दै आएको छ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गरेको छ । कम्पनीको विश्वभर १० लाखभन्दा बढी स्थानहरूमा फैलिएको नेटवर्क छ ।

    कम्पनीले सेवा शुभारम्भको २४ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

    यस्तै जिएमई रेमिटले पछिल्लो समय आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेको थियो । सन् २०१२ मा स्थापना भएको बेष्ट रेमिट नेपाल प्रालिको सफल अधिग्रहण पछि सन् २०१६ मा जिएमई रेमिटको स्थापना भएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend