logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

    पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

    385
    Shares
    पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

    कास्की । पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो ।

    मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए । उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो ।

    पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताए ।

    “पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ ।” कार्यालय प्रमुख गौतमले भने ।

    जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताए ।

    बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उनले बताए । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।

    इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिए ।

    “परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।” उनले भने ।

    पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिए । गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उनले माग गरे ।

    अध्यक्ष गुरुङले भने, “गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले धुँवा फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend