logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड, १ डलर किन्न १३४.४६ रुपैयाँ चाहिने

    अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड, १ डलर किन्न १३४.४६ रुपैयाँ चाहिने

    686
    Shares
    अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड, १ डलर किन्न १३४.४६ रुपैयाँ चाहिने

    काठमाडौं । अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ । मंगलबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब १ डलर किन्न १३४.४६ रुपैयाँ खर्चिनुपर्ने भएको छ । डलर महंगो भएपछि उपभोग्य वस्तुको भाउ पनि बढ्ने देखिन्छ ।

    भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । आइतबार १ डलर बराबर ८३.८५ भारु पुगेको छ । डलरसँग भारु कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भइरहेको हो ।

    भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

    आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

    मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२/०८३ मा १ डलरबराबर १ सय ३६.९ रुपैयाँ पुग्ने अनुमान छ ।

    पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो । डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ । नेपाल र भारतमा मात्र होइन, विश्व बजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन ।

    विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतलगायत अन्य उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ ।

    विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ । यद्यपि भारतमा डलर सञ्चितीले नयाँ रेकर्ड राखेको छ । भारतमा डलर सञ्चिती बढेर ६ खर्ब ७७ अर्ब पुगेको थियो ।

    महंगी बढ्ने

    अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । डलरसँगै नेपाली बजारमा सुनको भाउ उकालो लागेर तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रतिऔंस २५ सय डलर नाघेको छ ।

    गत आर्थिक वर्षको ११ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.६२ प्रतिशत छ । गत आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य सरकारको थियो ।

    सन् २०२३ मा विश्व अर्थतन्त्रको उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.९ प्रतिशत र २०२५ मा ४.४ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई ५.५ मा कायम राख्ने योजना बनाएको छ ।

    यस्तै छिमेकी भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरुको मूल्य उच्च रहेको र जारी रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ ।

    फेडेरल रिजर्भले एक वर्षभन्दा केही बढी समय अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरिसकेको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाइमा ५।२५ देखि ५.५० प्रतिशत पुर्याएको फेडरल फण्ड रेटलाई हालसम्म यथावत राखेको छ । युरोपियन केन्द्रीय बैंकले भने मुद्रास्फीति लक्षित सीमाभित्र आएसँगै नीतिगत दर घटाएको छ ।

    अन्य विकसित मुलुकका केन्द्रीय बैंकहरुले निकट भविष्यमा नीतिगत दरहरु घटाउदै लैजाने अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो आँकलन रहेको छ । भारतीय रिजर्भ बैंकले सन २०२४ जुनमा मौद्रिक नीतिको समीक्षा गरी विद्यमान नीतिगत रिपोदर ६.५ प्रतिशतलाई यथावत राखेको छ ।

    डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ ।

    गत जेठसम्म विप्रेषण आप्रवाह १९.३ प्रतिशत वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

    विदेशी विनिमय सञ्चिती २७.८ प्रतिशत वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

    यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।

    डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।

    डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।

    यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।

    यो पनि :

    डलरको भाउ निरन्तर उकालो यात्रामा, महंगीको पासोमा उपभोक्ता !


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend