logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • जगदुल्ला जलविद्युतको ४ प्रतिशत वित्तीय प्रगति, प्रति मेगावाट लागत २२ करोड ३० लाख

    जगदुल्ला जलविद्युतको ४ प्रतिशत वित्तीय प्रगति, प्रति मेगावाट लागत २२ करोड ३० लाख

    294
    Shares
    जगदुल्ला जलविद्युतको ४ प्रतिशत वित्तीय प्रगति, प्रति मेगावाट लागत २२ करोड ३० लाख

    काठमाडौं । प्रारम्भीक चरणमा रहेको प्रस्तावित १ सय ६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत २ सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ ।

    आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवनको निर्माण सम्पन्न भएको छ । आयोजना सन् २०२९ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विद्युतगृह स्थलमा थप जिओलोजिकल अध्ययनका लागि ४ सय ६० मिटर बराबरको टेस्ट अडिट टनेलका साथै २५ मिटरको च्याम्बरको निर्माण सम्पन्न भएको छ ।

    आयोजनाले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) समेत पाइसकेको छ । भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि गत जेठको तेस्रो साता विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।

    जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरेको हो । परेको प्रस्तावको मूल्याँकन भइरहेको छ ।

    आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन । नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले ऋण लगानी गर्ने भएका छन् ।

    यस्तै, एचआइडिसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजना निर्माणका लागि २३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    जसमध्ये करिब १६ अर्ब १८ करोड रुपैयाँ ऋण र सात अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) बाट जुटाउन लागिएको छ । आयोजना बनाउन प्रति मेगावाट लागत २२ करोड ३० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाको निर्माणपछि वार्षिकरुपमा चार अर्ब ८० लाख रुपैयाँ बराबरको आम्दानी हुनेछ ।

    ६९ प्रतिशत बैंकको ऋण र बाँकी ३१ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ । संस्थापक शेयरधनीका रुपमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ । एचआइडिसिएलको १० प्रतिशत, विद्युत प्राधिकरण नौ, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, जगदुल्ला र मुड्केचुला गाउँपालिकाको समान एक/एक प्रतिशत बराबरको स्वामित्व छ ।

    सर्वसाधारण शेयरधनीका रुपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन/तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

    कम्पनीको जारी पुँजी ७ अर्ब १ करोड रुपैयाँ छ । आयोजनाले २०७४ असार १८ गते विद्युत उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको हो ।

    आयोजना डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेसनमा जोडिनेछ ।

    अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड ७ सय ८९ मिटर छ । आयोजनाले वार्षिक ६२ करोड ३३ लाख २० हजार युनिट बिजुली उत्पादन गर्ने अध्ययनले देखाएको छ ।

    आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ । यस्तै, जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ मा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिने छ ।

    आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनी लिमिटेडले गरेको हो ।

    आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । सो आयोजनासँगै १ सय २० मेगावाट क्षमताको जगदुल्ला ए आयोजनाको पनि अध्ययन जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय अध्ययनको काम भइरहेको छ । यस्तै, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । सो आयोजनाको कूल लागत २७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

    यो पनि :

    जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

    जगदुल्ला जलविद्युतमा निफ्रा र नबिलसहित पाँच बैंकको १६ अर्ब, एक महिनाभित्र ऋण सम्झौता

    जगदुल्ला जलविद्युत् आयोजनाले यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend