logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • जगदुल्ला जलविद्युतमा निफ्रा र नबिलसहित पाँच बैंकको १६ अर्ब, एक महिनाभित्र ऋण सम्झौता

    जगदुल्ला जलविद्युतमा निफ्रा र नबिलसहित पाँच बैंकको १६ अर्ब, एक महिनाभित्र ऋण सम्झौता

    2.6K
    Shares
    जगदुल्ला जलविद्युतमा निफ्रा र नबिलसहित पाँच बैंकको १६ अर्ब, एक महिनाभित्र ऋण सम्झौता

    काठमाडौं । सार्वजनिक निजी लगानीमा निर्माण हुन लागेको प्रस्तावित १ सय ६ मेगावाटको जगदुल्ला जलविद्युत् अर्धजलासय आयोजनाको काम सुरु हुने तयारीमा छ। आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।

    यसै महिनाभित्र आयोजना बनाउन बैंकहरुसँग ऋण लगानी सम्झौता हुने विकासकर्ता जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जय सापकोटाले जानकारी दिए । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को नेतृत्वमा वित्तीय व्यवस्थापनको काम भइरहेको उनले बताए ।

    निफ्राले ४ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस्तै नबिल बैंकले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सिइओ सापकोटाले बताए। आयोजना निर्माण गर्न २३ अर्ब रुपैयाँ लाग्ने भएको छ । जसमध्ये १६ अर्ब ऋण र ७ अर्ब रुपैयाँ भने स्वपुँजीबाट जुटाइनेछ ।
    कूल लागतको ७० प्रतिशत बैंकको ऋण लगानी र बाँकी ३० प्रतिशत स्वपुँजीबाट जुटाइने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा समेटिएको जगदुल्ला आयोजनाले दैनिक १ करोड २० लाख रुपैयाँ आम्दानी गर्नेछ ।

    आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्नेगरी सेयर संरचना तयार पारिएको छ । पहिलोपटक प्रसारण लाइन प्रभावितका लागि समेत सेयर लगानी गर्न सक्नेगरी लगानीको ढाँचा तय गरिएको छ । संस्थापक सेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत हिस्सा छ ।

    यस्तै ऋण लगानी गर्न लागेको एचआइडिसीएलको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत स्वामित्व छ । सर्वसाधारणले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको सेयर पाउने व्यवस्था गरिएको छ ।

    कम्पनीको अधिकृत पुँजी ८ अर्ब । चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ छ । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र पाएको हो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको छ।

    आयोजनाको निर्माणअवधि पाँच वर्षको छ । प्रमुख कार्यकारी अधिकृत सापकोटाले आयोजना निर्माणका लागि पूर्वतयारीको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनका अनुसार बोलपत्रको काम पूरा गरी सकेसम्म चालु आर्थिक वर्षको अन्त्य, नभए पनि आगामी वर्षदेखि निर्माणमा जाने तयारी भइरहेको छ ।

    आयोजना इन्जिनियरिङ, प्रक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) खाकामा बनाउन लागिएको छ । आयोजना निर्माण २०८६ भित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाबाट वार्षिक ६२ करोड ३४ लाख २० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। वर्खामा ४२ करोड ३७ लाख ७० हजार र बाँकी सुक्खायाममा उत्पादन हुनेछ।

    अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड ७ सय ८९ दशमलव छ मिटर छ । आयोजनामा कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ । यस्तै जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युतगृहमा खसालेर बिजुली निकालिने छ ।

    आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गरेको हो । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ । आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवनको निर्माण सम्पन्न भएको छ ।

    उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्वीकृतिका लागि आवश्यक कागजातसहित निवेदन कम्पनीले पेश गरिसकेको छ ।

    आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुड्केचुलाको इल पुग्नका लागि सडक निर्माण भएको छ । हाल त्रिवेणीमा पुल निर्माणको काम जारी छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण पुल निर्माणले भने गति लिनसकेको छैन ।

    त्यस्तै त्रिवेणीबाट इलसम्म पुग्ने एक दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको सहयोगमा विष्फोटनको काम भइरहेको छ । कडा चट्टान भएकाले अहिले विस्फोटक पदार्थको प्रयोग गरी सडक निर्माण भइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म सडक निर्माण सक्ने तयारी छ । आयोजनाबाट उत्पादित बिजुली जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माण हुने चार सय केभी क्षमताको सबस्टेशनमा जोडिनेछ ।

    सो आयोजनासँगै १ सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको पनि अध्ययनकार्य जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । सो आयोजनाको कुल लागत २७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । यस्तै २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययनकार्य सुरु भएको छ ।

    कुल एक सय छ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ । वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा छ । परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरूपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्लाका सिइओ सापकोटाले जानकारी दिए।

    आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ । आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवनको निर्माण सम्पन्न भएको छ ।

    विद्युतगृह स्थलमा थप जिओलोजिकल अध्ययनका लागि चार सय ६० मिटरबराबरको टेसट अडिट टनेलका साथै २५ मिटरको च्याम्बरको निर्माण सम्पन्न भएको छ । यसले निर्माण व्यवसायीलाई काम गर्न थप सहज हुनेछ । उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्वीकृतिका लागि आवश्यक कागजातसहित निवेदन कम्पनीले पेश गरिसकेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend