logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारी अस्पतालले गरिब नागरिकको निःशुल्क उपचार गर्नुपर्छः सांसद परियार

    सरकारी अस्पतालले गरिब नागरिकको निःशुल्क उपचार गर्नुपर्छः सांसद परियार

    650
    Shares
    सरकारी अस्पतालले गरिब नागरिकको निःशुल्क उपचार गर्नुपर्छः सांसद परियार

    काठमाडौं । नेपाली काँग्रेसका सांसद जीवन परियारले सरकारी अस्पतालले गरिब नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार दिने नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले सरकारी अस्पतालले गरिब र निम्न आर्थिक अवस्था भएका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने बताएका हुन् ।

    उनले यसका लागि स्वास्थ्य मन्त्रालयले नीति नै बनाउनुपर्ने बताए । उनले औषधिमा कालोबजारी भइरहेको भन्दै मन्त्रालयले आम नागरिकले थाहा पाउनेगरी अनुगमन गर्नुपर्ने बताए । उनले निजी अस्पतालहरुले पनि अस्पतालमा के–कति निःशुल्क शैय्याहरु छन् सो को विवरण सार्वजनिक रुपमा टाँस गरेर जानकारी गराउनुपर्ने बताए ।

    उनले भने, ‘अहिले टिचिङ गयौँ भने एक रुपैयाँको छुट हुँदैन, जुनसुकै व्यक्ति जाऔँ । पाटन गयौँ भनेपनि छुट हुँदैन । यसबारेमा स्वास्थ्य मन्त्रालयले एउटा नीति बनाउनुपर्यो । आज बालेन साहले निःशुल्क स्वास्थ्य उपचार गराउँछु पालिकाबाट सिफारिस लिएर आउनुस् विपन्नलाई म सेवा दिन्छु भन्नुभएको छ । यत्रो राज्यले के हेरेर बसिराखेको छ ? चासो राख्नुपर्यो । औषधिमा कालोबजारी छ । हेर्नुपर्यो । अनुगमन गर्नुपर्यो । सचिवज्यु घुमेको छु त भन्नुभयो । नतिजा कहिले आउने सचिवज्यु ? आउनुपर्यो । लुकेर गर्नुपर्दैन । हाकाहाकी गर्नुस् न । कहिले भित्रि रुपमा गएर हेरेर त्यहाँबाट रिजेल्ट आउट गर्ने हो ?’

    ‘गरिब जनताहरु स्वास्थ्यउपचार नपाएर आत्महत्या गरेका छन् । यो कुरामा ध्यान दिनुपर्यो । अस्पतालमा पैसा तिर्न नसकेर भागेका छन् । नेपाल सरकारका मातहतमा रहेका जतिपनि अस्पताल छन्, नीजिलाई त राज्यले बाध्यकारी बनाउनुपर्छ भने नीजि अस्पतालमा त कतिओटा निःशुल्क बेड छन् भन्नेपनि थाहा छैन । आम जनताले थाहा पाउनु पर्दैन ? टाँस्नुपर्यो सार्वजनिक रुपमा अस्पतालले । अस्तव्यस्तता छ स्वास्थ्य क्षेत्रमा । मेरो आग्रह सरकारी अस्पताललाई त कम्तिमा राज्यको मातहतमा राखौँ । सरकारी अस्पताललाई गरिब र निम्नस्तरका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिन सक्नेगरी राज्यले तयारी गर्नुपर्छ’ उनले भने ।

    सांसद परियारले स्वास्थ्य क्षेत्रमा अस्तव्यस्तता रहेको भन्दै सरकारी अस्पताललाई राज्यको मातहतमा राख्नुपर्ने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend