काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
झा गत असार १४ गते नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका थिए ।
अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
झालाई ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।