logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पर्यटनका पायोनियर सापकोटा : भरियादेखि टानको अध्यक्षका प्रत्यासीसम्म

    पर्यटनका पायोनियर सापकोटा : भरियादेखि टानको अध्यक्षका प्रत्यासीसम्म

    4.2K
    Shares
    पर्यटनका पायोनियर सापकोटा :  भरियादेखि टानको अध्यक्षका प्रत्यासीसम्म

    काठमाडौँ । सन् १९९८ धादिङबाट काठमाडौँ आउँदै गर्दा १६ वर्षे राजेन्द्रप्रसाद सापकोटासँग जीवन निर्वाहका लागि आम्दानीको भरपर्दो स्रोत खोज्नु बाहेक अर्को सपना थिएन । परिवारको कमजोर आर्थिकका कारण रहर लागेका सामान किन्न पैसा स्वतन्त्रता दिँदैनथ्यो । जसोतसो गरी जम्मा गरेको पैसा गोजीभित्रै हुँदा पनि मन लागेका ठाउँमा खर्च गर्न पनि ठूलो आँट जुटाउनुपर्ने अवस्था थियो ।

    उनी एसएलसी सकाएपछि नतिजा नआउँदै कलिलो उमेरमा काम खोज्दै काठमाडौँ आइपुगेका थिए । धादिङकै ज्ञानप्रसाद रिमालले उनलाई आफ्नो कम्पनी गणेश हिमाल ट्रेकिङमा पोर्टरको काम मिलाइदिने बचन दिएका थिए । पोर्टरको काम शारीरिक रुपमा गाह्रो भए पनि पैसा कमाउनका लागि त्यो उमेर र अवस्थामा उनीसँग अर्को विकल्प पनि थिएन ।

    त्यसैले काठमाडौँ आए लगत्तै विदेशी पर्यटकसँगै उनीहरुका झोला बोकेर पहाड र हिमाल चढ्न थालिसकेका थिए । “विदेशीको झोला बोकेर हिमाल चढे वापत दैनिक तीन सय रुपैयाँ पाइन्थ्यो । खाना र बासको खर्च भने आफैले बेहोर्दा हातमा डेढ/दुई सय रुपैयाँ जति बच्थ्यो”, सापकोटाले विगत सम्झिए । उनी झोला बोकेर हिमाल र पहाड चढ्दै एक वर्ष बिताए ।

    एक वर्षसम्म पोर्टरका रुपमा काम गरेपछि उनलाई अब पोर्टरभन्दा पनि गाइड बन्ने रहर जाग्यो । गाइडको आम्दानी पनि राम्रो हुने र अरुको भारी बोक्न नपर्ने भएकाले गाइड बन्ने रहर जागेको थियो ।

    “सुरुआतमा पोर्टरका रुपमा भूगोल चिनियो, सडक र संस्कृति पनि बुझ्न पाइयो”, सापकोटाले सुनौलो नेपालसँग भने, “तालिम लिएर पोर्टर भनेपछि व्यवसाय कसरी चल्छ भन्ने जानकारीसँगै पर्यटकसँग बढी अन्तरक्रिया हुँदा थप जानकारी पनि मिल्यो ।” उनले सन् १९९८ देखि सन् २००५ सम्म उनले गाइड अर्थात पथप्रदर्शकका रुपमा काम गरे । गाइडका रुपमा उनको तलब दैनिक पाँच सय रुपैयाँ थियो । त्यसैबाट दुई सय जति खान र बस्न मै खर्च हुन्थ्यो । जे गर्दा पनि बचत गर्नै गाह्रो अवस्था भयो ।

    यतिञ्जेलसम्म सापकोटाले मुलुकका अधिकांश पदयात्रा छिचोलिसकेका थिए । पहाड र हिमालका उचाइ नाप्दै गर्दा व्यवसाय सञ्चालनको प्रकृतिलाई सुक्ष्मरुपमा बुझ्न पाएका थिए । त्यसैले सन् २००५ मा केही साथीहरुसँग मिलेर आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे । उनीहरुले ‘हिमालयन सिनरी’ कम्पनीमार्फत विदेशीलाई पदयात्रा गराउन थाले ।

    तर, साथीहरुसँगको सहकार्य लामो समय चलेन । विभिन्न कारणले साथीहरुसँगको सहकार्य एक वर्षभन्दा अघि बढ्न सकेन । उनले सन् २००६ देखि आउटडोर हिमालय ट्रेक स्थापना गरी एक्लैले ट्रेकिङ व्यवसाय सुरु गरे । यस व्यवसायमा पोर्टरबाट सुरु भएको उनको करिअर गाइड हुँदै आज प्रतिष्ठित व्यवसायीका रुपमा स्थापित भइसकेको छ । यस क्षेत्रमा लागेको करिब दुई दशकपछि उनी यतिबेला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नेतृत्व लिने तयारीमा छन् । यसका लागि प्यानल निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरिसकेका छन् ।

    व्यावसायिक यात्रा 

    सापकोटा सन् २००६ देखि टानका सदस्यका रुपमा क्रियाशील छन् । विगतमा टानअन्तर्गत विभिन्न भूमिकामा रही काम गर्दै आएका उनी यतिबेला टानको नेतृत्वमा तहमा पुगेर यसलाई नयाँ उचाइ दिन चाहन्छन् ।

    “पोर्टर र गाइडदेखि झण्डै दुई दशकयता व्यवसायीका रुपमा यस व्यवसायलाई मैले निकै निजकबाट चिनेको छु, श्रमिक र व्यवसायी दुवैका समस्या आफैले महसुस गरेकाले पनि मैले सबैलाई न्याय हुने गरी काम गर्न सक्छु भन्ने लाग्छ”, उनले भने, “यसका लागि व्यवसायी र श्रमिक साथीहरुले पनि मलाई निकै हौसला दिनुभएको छ भने मप्रति विश्वास पनि देखाउनु भएको छ ।”

    त्यसो त सापकोटाले नेपाल पर्यटन बोर्डमा बोर्ड सदस्यका रुपमा चार वर्ष कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी विसं २०७१ सालमा पुसमा बोर्डमा नियुक्त भएका थिए । उनी नियुक्ति भएको चार महिनापछि अर्थात् २०७२ साल वैशाख १२ गएको भूकम्प गयो । यसले मुलुकको पर्यटन क्षेत्रलाई नराम्रो पार्यो ।

    “पर्यटन क्षेत्रमा भूकम्पको ठूलो असर पर्यो । विदेशमा भने नेपाल नै ध्वस्त भएको भन्ने सन्देश प्रवाह भयो, त्यसलाई चिर्न पर्यटन बोर्डको सदस्यका रुपमा मैले पनि भूमिका निर्वाह गरें”, उनले भने, “भूकम्पको समयमा पर्यटकको उद्धार र व्यवस्थापनदेखि विश्वमा नेपालको प्रचारप्रसारमा खटिएको थिएँ ।”

    त्यो समयमा पर्यटन विभागको महानिर्देशकमा तुलसी गौतम थिए । पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नभएकाले उनी आफैले गौतमसँगको सहकार्यमा पर्यटकलाई उद्धार, व्यवस्थापन र सुरक्षित रुपमा उनीहरुको घरसम्म पु¥याउनका लागि अहोरात्र खटिएको सापकोटाले सुनाए ।

    उक्त भूकम्पबाट १२ वटा जिल्ला माात्रै प्रभावित भएका थिए । त्यसमा पनि सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ र गोरखा बढी प्रभावित भएका थिए । यसबारे जानकारी दिँदै  सापकोटालगायत पुरातात्विक विभागसँग मिलेर भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना संरक्षण र पुनःनिर्माणमा जुटेका थिए ।

    “हामीसँग सम्पदा नै नभए पर्यटक कसरी आकर्षित गर्ने, यस्तो अवस्था हामीले ‘आइ एम इन नेपाल नाओ’ अभियान सुरु गर्यौं, यसले नेपाल सुरक्षित छ भन्ने विश्वमा सन्देश प्रवाह भयो, जुन प्रभावकारी पनि बन्यो”, उनले भने ।

    त्यति मात्रै होइन, सापकोटालगायतले भूकम्पपछि आन्तरिक पर्यटन प्रबद्र्धन गरेकै कारण यतिबेला आन्तरिक पर्यटन मौलाएको छ । फलस्वरुप लामो समयदेखि पर्यटक भनेका विदेशी मात्रै हुन् भन्ने सोचलाई चिर्दै आन्तरिक पर्यटकको महत्व बढ्न थालेको छ । लामा—लामा पदयात्रामा विदेशीभन्दा आन्तरिक पर्यटक नै बढी देखिन थालेका छन् ।

    यसले विदेशी पर्यटक नआएको कोरोनापछिको समयमा पनि पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्नका लागि सहयोगी बन्यो । यदि आन्तरिक पर्यटनको  प्रबद्र्धन नहुँदो हो त कोरोनापछि आजका दिनसम्म पनि पर्यटन क्षेत्र रिभाइभकै चरणमा हुनसक्थ्यो ।

    स्मार्ट टानको लक्ष्य

    २५ वर्षअघि पहिलो जागिर गर्नेमा पदयात्रामा जोडिएका सापकोटा आजसम्म पनि निरन्तर यही व्यवसायमा छन् । यही व्यवसायमा भिज्दै, बुझ्दै र आफैलाई निर्खादै उनी यतिबेला व्यवसायीहरुको छाता संस्था टानको नेतृत्वमा पुग्ने योजनाका साथ अघि बढेका छन् ।

    उनका शब्दमा यो व्यवसाय यतिबेला संकटोन्मुख छ । पदमार्गहरुलाई विकासका नाममा मास्ने काम भइरहेको छ । विश्वकै उत्कष्ट पदमार्गलाई विभिन्न बाहनामा महत्व घटाउने काम भइरहेको छ । यी र यस्ता समस्याले यस व्यवसायमा जोडिएका करिब छ लाखभन्दा बढी श्रमिक र तीन हजारको हारहारीमा रहेका व्यवसायीसँगै मुलुकको पर्यटन क्षेत्रको भविष्य संकटमा पर्ने अवस्था छ । यदि समयमै यी समस्याको बेलैमा समाधान नगर्ने हो भने आगामी दिनमा ठूलो समस्या आउने उनको आकलन छ ।

    “फत्तेराज राजभण्डारीको नेपाली हामी रहन्छौँ कहाँ नेपालै नरहे गीत जस्तै पदमार्ग बिना हाम्रो व्यवसाय नै रहन्न, त्यसतर्फ सरकारलाई नीतिगत तहबाटै जिम्मेवार बनाएर समस्या समाधान गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो”, उनले भने । उनका शब्दमा नेपालको ७० प्रतिशत पर्यटन क्षेत्र पदमार्गमा निर्भर छ । यससँगै जोडिएका श्रमिक र व्यवसायीसँगै स्थानीयको आय पनि आउँछ । तर विकास निर्माणको अव्यवस्थित योजना बनाउँदा दूरगामीरुपमा पदमार्गमा ठूलो असर पुग्ने निश्चित छ । त्यसैले सरोकारवालालाई झक्झकाएर भए पनि समस्या समाधानका लागि आफ्नो भूमिका रहने उनले बताए ।

    “हामीले त पदयात्राबारे सबैलाई जानकारी नै गराउन सकेका छैनौँ, त्यसैले मेरो प्राथमिकतामा शिक्षामन्त्रालय र विश्वविद्यालयसँगको सहकार्यमा पाठ्यक्रममै यसलाई समावेश गर्नु हुनेछ”, उनले भने, “विद्यालय तहबाटै यसबारे चेतना जगाउनु आवश्यक भइसकेको छ ।”

    उनले आफूलाई अध्यक्षका प्रत्यासीका रुपमा मैदानमा उभ्याउँदा केही प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनले पहिलो प्राथमिकतामा व्यवसायी र श्रमिकको हितलाई राखेका छन् । “टानको प्रमुख जिम्मेवारी व्यवसायीको हितमा काम गर्नु हो । कोभिडपछि धेरै व्यवसायी धराशायी भएको अवस्था छ । केही पलायन भइसके भने केहीको अवस्था अहिले पनि नाजुक छ”, उनले भने, “अध्यक्षका रुपमा पहिलो बैठकबाट स्वास्थ्य उपचार कोष स्थापना गरी व्यवसायीलाई लाभ लिने वातावरण बनाउँछु । यसका लागि कोष परिचालनका लागि मापदण्ड नै बनाएर काम गर्नेछु ।”

    त्यसबाहेक पदमार्गको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनसँगै नयाँ पदमार्गको विकासलाई पनि आफ्नो प्राथमिकतामा उनले राखेका छन् । कतिपय ठाउँमा विकास निर्माणका नाममा पदमार्ग मास्ने काम भइरहेको उल्लेख गर्दै उनले कम हानी हुने गरी विकास निर्माण र पदमार्गको विकल्प खोज्ने गरी काम गर्ने उनले बताए ।

    त्यति मात्रै होइन, व्यवसायीले करका नाममा पाइरहेको दुःखलाई पनि अन्त्य गर्ने उनको योजना छ । “मेरो कार्यकालमा यो समस्या समाधान गर्नेछु अहिले व्यवसायीहरुले राजस्व तिरिरहेका छौँ, त्यसबाहेक भ्याट पनि तिरिरहेको अवस्था छ । तर हामीले भ्याट फिर्ता पाउन सकेका छैनौँ, हामीले खर्च देखाउन पाएका छैनौँ, यसले व्यवसायीलाई समस्यामा पारेको छ, मेरो कार्यकालमा समस्या समाधान हुने गरी काम गर्नेछु ।”

    त्यसबाहेक लामो समयदेखि अन्योलमा रहेको टिम्सको रकम परिचालनका लागि ठोस योजना बनाएर काम गर्ने सापकोटाको योजना छ ।  व्यवसायीका तर्फबाट जम्मा भएको करोडौँ रकमलाई व्यवसायी र श्रमिकको हितमा हुने गरी खर्च गर्ने उनले योजना सुनाए । “उक्त रकमको सदुपयोग पदमार्ग निर्माण, ममर्त, स्तरोन्नतिका साथै श्रमिक सेन्टर बनाउनका लागि प्रयोग गर्नेछौँ,  श्रमिकका लागि कल्याणकारी कोष स्थापना गरी १० प्रतिशत रकम त्यहाँ जाने व्यवस्था गर्न सकियो भने श्रमिकको पनि हित हुन्छ, त्यसलाई प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउँछु”, उनले भने ।

    हाल कतिपय प्रतिबन्धित क्षेत्रमा एक जना मात्रै पर्यटक जान नपाउने व्यवस्था अन्त्य गर्दै अनिवार्य श्रमिकको व्यवस्थाका लागि नीतिगत तहमै पहल गर्ने योजना रहेको उनले सुनाए ।

    उनको योजनामा मुलुकमा प्रत्येक वर्ष एड्भेञ्चर ट्राभल मार्ट सञ्चालन गरी साहसिक पर्यटक बढाउनु पनि रहेको छ । यसमार्फत मुलुकको पर्यटन प्रबद्र्धन गर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त भ्लगर र युट्युवरमार्फत पर्यटन प्रबद्र्धन गर्ने उनको योजना छ ।

    नीति निर्माण प्राथमिकतामा

    सापकोटा सही नीति निर्माण गर्न सकियो र त्यसको सफल कार्यान्वयन भएको अवस्थामा पर्यटन क्षेत्रको विकास गर्न सकिने तर्क गर्छन् । उनले यसका लागि पर्यटन बोर्डसँग आवश्यक सहकार्य गर्ने बताए । चार दशकभन्दा पुरानो पर्यटन ऐनलाई समय सापेक्ष संशोधन गरी पर्यटन क्षेत्रको दीर्घकालीन हित हुने गरी पारित गर्नका लागि पहल गर्ने पनि उनको योजनामा छ ।

    साथै जलवायु परिवर्तनसम्बन्धी जानकारी दिन मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा पदमार्गका विभिन्न स्थानमा डिजिटल सूचना उपलब्ध गराउने पनि उनको योजना छ । त्यसो गर्न सकिएको अवस्थामा पर्यटकले सही सूचना पाउने र सम्भावित जोखिमबाट बच्न सक्ने उनको बुझाइ छ ।

    रामेछापको मन्थली विमानस्थलको प्रभावकारी सञ्चालन गर्न सकिए पर्यटकीय गतिविधि बढाउन सकिने भएकाले त्यहाँसम्मको पहुँचमार्ग स्तरोन्नति र सञ्चालनका लागि आवश्यक समन्वय र पहललाई पनि सापकोटाले प्राथमिकतामा राखेका छन् । उनी अध्यागमन विभाग र पर्यटन विभागको समन्वयमा पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा दिन सकियो भने निकै सहज हुने भएकाले त्यसलाई पनि कार्यकालमा सक्दो प्रयास गर्ने तयारीमा छन् ।

    त्यसैगरी संस्थाको पारदर्शिताका लागि पब्लिक अडिट गर्ने उनको योजना छ । यसका लागि फजुल खर्च कम गर्दै आवश्यक काममा जोड दिने उनले प्रतिबद्धता जनाइसकेका छन् । “संस्थामा सुशासन कायम गर्न आर्थिक पारदर्शिता आवश्यक छ । आर्थिक पारदर्शितालाई कायम राख्दै पर्यटन क्षेत्रको विकासमा क्रियाशील हुनका लागि योजना नै निर्माण गरिसकेको छु”, उनले भने ।

    संस्थालाई अविछिन्न रुपमा अघि बढाउन अग्रजको सम्मान गर्नुपर्नेमा उनी दृढ छन् । उनले यसका लागि संस्थापक अध्यक्ष स्वर्गीय अम्बिका श्रेष्ठका नाममा कम्तीमा २५ हजार रुपैयाँ राशीको टान सफल महिला उद्यमी पुरस्कार स्थापना गरी प्रत्येक वार्षिकोत्सवमा वितरण गर्ने योजना पनि बनाएका छन् । “अग्रजको सम्मान गर्दै उहाँहरुको अनुसरण गर्दै नयाँ योजनाका साथ अघि बढियो भने पर्यटन क्षेत्रकै लागि पनि राम्रो हुन्छ, त्यसका लागि म प्रतिबद्ध छु”, उनले भने ।

    उनले संस्थालाई सूचना प्रविधिमा अब्बल बनाइ सहज सूचनाको पहुँच स्थापित गर्ने योजना सुनाए । साथै टानलाई प्राविधिक र व्यवहारिक रुपमा स्मार्ट बनाउने योजना सुनाउँदै उनले पारदर्शिता र सुशासन नै आफ्नो प्रमुख उद्देश्य रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend