काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी निर्वाचनमा टानका पूर्वअध्यक्षहरु, वरिष्ठ पर्यटन व्यवसायी तथा शेर्पा समुदायहरु अध्यक्षका उमेद्वार राजेन्द्रप्रसाद सापकोटाको पक्षमा उभिएका छन्।
आगामी सेप्टेम्बर २ मा हुने टान निर्वाचनका लागि सापकोटाले नेतृत्व गरेको समुह युवा, व्यवसायी, समावेशी, सक्षम समूह रहेको भन्दै उनीहरु सापकोटाको पक्षमा उभिएका हुन्।
शनिबार चावहिलमा रहेको पार्टी भन्यूमा भएको भेलामा विशेषगरी कोशी प्रदेश र शेर्पा समुदाएको बाक्लो उपस्थिति रहेको थियो । टान निर्वाचनमा पूर्वसंस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री तथा संविधानसभा सदस्य कृपाशोर शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभागका प्रमुख आङगेलु शेर्पा, एनएमएका पूर्वअध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी डा आङ तेरिङ शेर्पा, एनएमएका पूर्वअध्यक्ष सन्तवीर लामा र नेपाली कांग्रेसका नेता तथा टानका पूर्वअध्यक्ष रमेश धमलालगायतको सापकोटाको समूहलाई समर्थन रहेको जनाए ।
सापकोटाले बोकेको एजेण्डाहरु राम्रो भएको र टानलाई हाँक्न सक्ने समूह सापकोटाको नेतृत्वमा रहेको उनीहरुको भनाई छ ।
उक्त भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य शेर्पाले यो सत्तासँग पनि जोडिएको समूह भएकाले भोलिका दिनमा सँविधान संशोधन हुँदै गर्दा टानलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउनका लागि सहज हुने बताए ।
उनले सिधै सत्तासँग सहकार्य गर्न सक्ने भएकाले पनि सापकोटा नेतृत्वको समूहलाई भोट हाल्न कांग्रेस निकट व्यवसायीलाई आग्रह गरे ।
त्यसैगरी, एनएमएका पूर्वअध्यक्षद्वय शेर्पा र लामाले सापकोटा पहिले पनि पर्यटन बोर्डसँग सम्बन्धित भएको र टानलाई राम्रोसँग बुझेको व्यक्ति भएकाले टान निर्वाचनमा उनको समूहले जीत्ने दावी गरे ।
त्यस्तै, नेपाली कांग्रेसका नेता तथा टानका पूर्वअध्यक्ष धमलाले यो सँस्था र नेपाली कांग्रेससँग जोडिएका सम्पुर्ण पर्यटन व्यवसायीको पनि सापकोटा समूहलाई समर्थन रहेको बताए । साथै उनले नेकपा एमाले र कांग्रेसको आधिकारिक समूह भएको र सबैको समर्थन रहेको स्पष्ट पारे ।
यस भेलामा टानका पूर्वअध्यक्ष्यहरु जेबी सिंह, महेन्द्र थापा, रमेश धमला, चन्द्र रिजाल, दीपक महत, याङ्किला शेर्पा, खुम सुबेदी, वर्तमान अध्यक्ष नीलहरि बास्तोलाको सहभागिता थियो ।
त्यस्तै, एनएमएका अध्यक्ष निमानुरु शेर्पा, वरिष्ठ व्यवसायीहरु लाक्पा सोनाम शेर्पा, विक्रम पाँडे (काजी), फुर ग्याल्जेन शेर्पा, मिङ्ग्मा शेर्पा, टानका पूर्वसदस्य एवम् पूर्वमन्त्री निमा लामालगायतले सापकोटा नेतृत्वको समूहलाई हौँसला प्रदान गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले आफ्ना एजेन्डालाई थप प्रभावकारी बनाई दिएकोमा पूर्वअध्यक्ष्यहरुलाई धन्यवाद व्यक्त गरे । साथै उनले अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्ने पनि बताए ।
‘हाम्रा एजेन्डाहरुलाई थप प्रभावकारी बनाइदिनु भएको छ । हामी यहाँहरुले देखाउनु भएको बाटोमा अगाडि बढ्ने छौं ।’ उनले भने, ‘ग्रजहरुको सम्मान, भावी पुस्ताको यो व्यवसायमा सुन्दर भविष्य निर्माण गर्ने हाम्रो अभियानमा तपाई सम्पूर्ण आदरणीय मतदाताहरुको अमूल्य मतको अपेक्षा गर्दछौँ ।’