logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

    सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

    287
    Shares
    सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका हुन् ।

    आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिनेगरी संवद्ध पक्षले परिणाममुखि काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले संवद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पारे ।

    सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफनो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाईन्ट रुपमा काम गर्नुपर्ने पनि बताए । संवद्ध पक्षबीच दैनिक हुने छलफलले सडक दुर्घटना न्युनिकरणमा कमी ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि उनले स्मरण गराए ।

    गृहमन्त्री लेखकले भने, ‘सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्यो । र सवारी दुर्घटना न्युनिकरण गर्नुपर्यो । यसमा सबैले अहिलेको काउन्सिल पनि स्थापना भएको छ । विपद्को प्राधिकरण स्थापना भएको छ । मैले त अथोरिटी नै स्थापना गर्ने भनेको हो । यातायात व्यवस्था प्राधिकरण स्थापना गरौं । र त्यसैलाई यो दुर्घटना न्युनिकरणको पनि जिम्मा दिउँ भनेको । त्यहाँबाट यो कुरा शुरु भएको हो । अहिले परिषद् भएछ । जे होस् गठन भयो । अब यसले फोकल प्वाईन्टको रुपमा काम गर्नुपर्यो ।

    अब यातायात व्यवस्था विभागले लाइसेन्सको व्यवस्था गर्छ । गाडीको टेष्ट गर्छ । ट्राफिक पुलिसले चेकजाँच गर्छ । यो सबैको फोकल प्वाईन्टको रुपमा हेर्नुपर्यो परिषद्ले । यस्ता मिटिङहरु निरन्तर बसाई राख्नुपर्यो । छलफल गर्नुपर्यो । कहाँ कसको कमजोरी देखिन्छ ? हेर्नुपर्यो । र त्यो परिणाममा देखिनुपर्यो । त्यसकारण यो एकदमै बढ्यो । त्यो ठिक भएन । यतिका मानिसको दुर्घटनाबाट ज्यान जाने भनेको यो एकदमै भएन ।

    यसलाई जसरी हुन्छ, यो दुर्घटना न्युनिकरणमा तपाईँहरु लाग्नुस् । आउने २/३ महिना भित्र यो दुर्घटनामा कमी आएको देखिनुपर्छ, हुनुपर्छ । अब गृह मन्त्रालयको जोडिहाल्दो रहेछ । अब बस खस्यो । पुलिस रेस्क्यु गर्न जानुपर्छ । सशस्त्र पुलिस जानुपर्छ । नेपाली सेना जानुपर्छ । त्यसकारण यो दुर्घटना हुने बित्तिकै हाम्रो सरोकार जोडिन्छ । विपदको सरोकार जोडिन्छ हाम्रो । त्यसो भएको हुनाले यसलाई नियन्त्रण गर्नु पर्छ ।’

    छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बजार मूल्यको वृद्धि अनुसार सार्वजनिक यातायाताको भाडाको समायोजन गर्नुपर्ने, यातायाता सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० लाई यथाशिघ्र कार्यान्वयन गराउनका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेको छ ।

    महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातको भाडादर बजार मूल्य वृद्धिको आधारमा समायोजन गर्नका लागि पहल गरिदिन गृहमन्त्री लेखकको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० लाई यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक पहल गरिदिन हुन सादर अनुरोध गरिन्छ । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्ता, मजदुर प्रविधिमैत्री र दुर्घटना न्युनिकरणका लागि सरोकारवालासहितको अधिकार सम्पन्न संघीय र प्रादेशिक यातायात प्राधिकरण गठन गरी भद्रगोल अवस्थामा प्रतिष्पर्धा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि माननीय गृहमन्त्री ज्यु मार्फत आवश्यक पहल गरिदिन अनुरोध गरिन्छ ।

    सार्वजनिक यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ३५ प्रतिशत र वार्षिक रुपमा सवारी साधनको मूल्यवृद्धिबाट हुने बजार मूल्यको आधारमा ६५ प्रतिशतलाई आधार मानी वैज्ञानिक तवर भाडा समायोजन गर्दै आएकोमा मिति २०७८ सालदेखि बजार मूल्यमा वृद्धि भएको आधारमा प्रत्येक चैत्र मसान्तभित्र भाडा समायोजन गर्ने निर्णय कार्यान्वयन नभएको हुँदा भाडा समायोजनका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्न चाहन्छु ।’

    महासंघले सडक दुर्घटना न्युनिकरण र यस क्षेत्रको सुधारका लागि अधिकार सम्पन्न संघीय र प्रादेशिक यातायात प्राधिकरण गठन गर्न माग गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend