काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतले आफ्नो नेतृत्वको सरकारलाई अपदस्त गर्न लागेको भन्ने भनाईप्रति सत्यता रहेको जनाएको छ । सोमबार नेकपा महामन्त्री मोहनविक्रम सिंह द्वारा जारी बिज्ञप्तिमा प्रधानमन्त्री ओलीको उनलाई प्रधानमन्त्रीबाट हटाउन चलखेल भइरहेको छ भन्ने उनको भनाइप्रति ने.क.पा.(मसाल)को ध्यान आकर्षित भएको र उनको त्यो भनाइमा सत्यता छ भन्ने जनाईएको छ । पहिलो प्रधानमन्त्रीत्वको कालमा चीनसितको सम्बन्धको विस्तारका कारण ओलीलाई अपदस्थ गरिएको घटनाको पुनरावृति हुनसक्ने तथा राष्ट्रियताप्रति ओलीको कतिपय अडान सही भएपनि एमसीसीको विषयमा ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाएको बताएका छन् ।
यस्तो छ बिज्ञप्तिको पूर्णपाठ
‘प्रधानमन्त्री ओलीको उनलाई प्रधानमन्त्रीबाट हटाउन चलखेल भइरहेको छ भन्ने उनको भनाइप्रति ने.क.पा.(मसाल)को ध्यान आकर्षित भएको छ । उनको त्यो भनाइमा सत्यता छ भन्ने हाम्रो पनि मत छ ।
ओलीको यो भनाइमा पनि सत्यता छ कि उनको पहिलो प्रधानमन्त्रीत्वको कालमा उनले चीनसितको सम्बन्धको विस्तारका लागि नै पहलकदमी गरेको हुनाले भारतको ग्राइन्ड डिजाइनमा उनलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरिएको थियो । अहिले पनि त्यसप्रकारको घटनाको पुनरावृत्तिको सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न ।
हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका छौं कि वर्तमान सरकारले गणतन्त्र र धर्मनिरपेक्षताको पक्ष लिएकाले प्रतिगामी शक्तिहरु त्यसलाई अपदस्थ गर्न प्रयत्नशील छन् । भारतीय साम्राज्यवादले पनि त्यो कार्यमा सहयोग पु-याइरहेको छ । भेनेजुयलाबारे वर्तमान सरकारले केही सकारात्मक नीति अपनाएको हुनाले अमेरिका पनि ओली सरकारप्रति पहिलेदेखि असन्तुष्ट थियो । अहिले नक्सा प्रकरणबाट भारतीय शासकवर्गहरु वर्तमान सरकारप्रति धेरै नै क्रुद्ध भएका छन् । यसकारण वर्तमान सरकारलाई हटाउन उनीहरु पूरै लागिपर्ने कुरा स्पष्ट छ ।
ओली सरकारले नक्सा प्रकरणमा स्वागतयोग्य नीति अपनाएको भएपनि एमसीसीलाई संसदबाट पारित गराउन त्यसले पूरै शक्ति लगाइरहेको छ । त्यसका पछाडि ओली सरकारको उद्देश्य अमेरिकी सरकारको समर्थन प्राप्त गरेर सत्तामा बसिरहने आशाले बढी काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
तर शायद ओली सरकार यो बुझ्न असमर्थ छ कि उनी एमसीसीलाई संसदमा पारित गराउन सफल भएपनि अमेरिकी साम्राज्यवादको उनीप्रतिको नीति ‘युज एण्ड थ्रो’ नै हुनेछ । असार १६ गते भित्र एमसीसीलाई पारित गराउन नसकेको हुनाले अमेरिकाको दृष्टिमा ओली सरकार उसका लागि त्यति भरपर्दो शक्ति रहन गएको छैन । त्यो अवस्थामा नेपालप्रतिको आफ्नो साम्राज्यवादी वा इण्डोप्यासिफिक रणनीति पूरा गर्न त्यसले अर्को कुनै विकल्प खोज्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
ओली सरकारले यो बुझ्नुपर्ने आवश्यकता छ कि कुनै साम्राज्यवादी शक्तिप्रति सम्झौतापरस्त नीति अपनाएर होइन, सही नीति र कार्यप्रणालीको आधारमा जनताको विश्वास प्राप्त गर्न सकेपछि नै उनीहरुको अस्तित्व रहन सक्दछ । त्यसरी विचार गर्दा वर्तमान सरकारले झन् पछि झन् गलत नीति अपनाउँदै गइरहेको छ । त्यसले गर्दा जनताको सरकारप्रतिको विश्वास कम हुँदै र त्यो कारणले त्यसको आधार पनि कमजोर हुँदै गएको छ । त्यो अवस्थामा ओली सरकारले स्वयम् आफ्ना गलत नीति र कार्यशैलीका कारणले देशभित्रका प्रतिक्रियावादी शक्तिहरु र साम्राज्यवादी शक्तिहरुलाई त्यसलाई अपदस्थ गर्नका लागि मार्ग प्रशस्त गर्ने काम गरिरहेको छ ।
अमेरिकी साम्राज्यवाद वा भारतीय साम्राज्यवाद नेपालमा यस्तो सरकार चाहन्छन्, जसले उनीहरुको पूरै दलाली गरोस् । वर्तमान सरकारको चरित्र ढुलमुल, अवसरवादी र सम्झौतापरस्त छ । तर त्यो पूरै प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरुको दलाल भइसकेको छैन । त्यसैले त्यसले अमेरिकी वा भारतीय साम्राज्यवादको पूरै आवश्यकता पूरा गर्दैन । त्यो अवस्थामा उनीहरुका लागि यो सरकारको उपयोगिता ‘युज एण्ड थ्रो’ भन्दा बढी नभएको कुरा प्रष्ट छ ।
हाम्रो पार्टीले वर्तमान सरकारको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्र र त्यसका सबै गलत नीति र कार्यशैलीको दृढतापूर्वक सम्झौताहीन प्रकारले विरोध गर्दै आएको छ । तर अर्कातिर हाम्रो पार्टीले वर्तमान सरकारलाई प्रतिक्रियावादी र दुश्मनशक्ति पनि मान्दैन । त्यसले गणतन्त्र, धर्मनिरपेक्षता र नक्सा प्रकरणमा लिएको अडानलाई सकारात्मक रुपमा लिएको छ । नेकपाको विदेशी महिलालाई ७ वर्षमा वैवाहिक अंगीकृत नागरिकता दिने अडानलाई पनि हाम्रो पार्टीले सकारात्मक रुपमा लिएको छ, जब कि उक्त प्रश्नमा नेका र मधेशवादीले त्यो प्रश्नमा एकदम राष्ट्रघाती दृष्टिकोण अपनाएका छन् । उक्त कारणहरुमाथि विचार गर्दा पनि नेकपाको सरकार नेका, राप्रपा वा मधेशवादीहरु जस्तो प्रतिक्रियावादी नभएको कुरा बुझ्न पनि गाह्रो पर्दैन । त्यसैले हामीले वर्तमान सरकारलाई समर्थन गर्ने आफ्नो नीतिलाई अहिले पनि कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।
हाम्रो यो स्पष्ट मत छ कि नेकपाको सरकारलाई अपदस्थ गर्ने देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरुको षडयन्त्र सफल भयो भने देश प्रतिगमनतिर जानेछ । त्यसैले वर्तमान सरकारका सबै गलत नीति र कार्यशैलीका विरुद्धको संघर्षलाई कायम राख्दै वर्तमान नेकपाको सरकारलाई अपदस्थ गर्ने सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको सबै प्रयत्नहरुबाट आफूलाई अलग राख्ने पनि हाम्रो नीति हुनेछ ।
यो सबैलाई थाहा भएको कुरा हो कि कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा नक्सा प्रकरण समेतबारे वर्तमान सरकारले लिएको अडानका कारणले भारत सरकार र त्यहाँका सञ्चार माध्ययमहरुले वर्तमान सरकारका विरुद्ध कडा प्रहार गरिरहेका छन् । त्यही क्रममा उनीहरुले नेकपाको सरकारलाई हटाउन पूरा शक्ति लगाउने कुरा प्रष्ट नै छ ।
यो बताइरहनुपर्ने आवश्यकता छैन कि देशका सबै प्रतिक्रियावादी शक्तिहरुले भारतीय साम्राज्यवादको त्यस प्रकारको प्रयत्नलाई सफल पार्न पूरै साथ दिने छन् । प्रश्न ओली सरकार वा नेकपाको सरकार रहन्छ वा रहन्न भन्ने मुख्य होइन, उनीहरुको त्यसप्रकारको प्रयत्न सफल भए देशको राजनीति वा स्थिति कुन दिशामा जानेछ ? त्यो मुख्य प्रश्न हो । हाम्रो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता तथा देश र जनताका वृहत्तर हितका विरुद्ध जाने सबै देशी वा विदेशी शक्तिहरुका प्रयत्नहरुको सम्झौताहीन प्रकारले विरोध गर्दै आएको छ र गर्दै पनि जानेछ ।’