logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बागलुङका निराजनले कतारमा गरेको लोभलाग्दो प्रगती

    बागलुङका निराजनले कतारमा गरेको लोभलाग्दो प्रगती

    10.3K
    Shares
    बागलुङका निराजनले कतारमा गरेको लोभलाग्दो प्रगती

    दोहा (कतार) । आफ्नै देशमा पौरख गरौँ भन्ने कस्लाई पो नहोला र ? जन्मभूमिकै माटोमा पसिना बगाऔँ, त्यही माटोमा बिउ रोपौँ, फूल र फल फलाऔँ भन्ने धेरैको रहर हुन्छ । तर, भने जस्तो सबैलाई सधैभरी कहाँ हुन्छ र ?
    “आफ्नो चाहना र कडा मेहनतले पनि कहिलेकाँही काम नगर्ने रहेछ, कुनै समय स्वदेशमै कर्म गर्ने प्रणका साथ कतार छाडी नेपाल फर्किएको थिएँ , तर, खोइ किन हो देशमै बस्छु, कमाउँछु र रमाउँछु भन्ने चाहना पूरा भएन, फेरि कतार नै फर्किए”, दोहाको फराकिलो सडकमा चिल्लो कार कुदाउँदै गर्दा बागलुङका निराजन गौतमले विगत सम्झिएँ ।

    निराजन कतारमा दुःख गरी कमाएको पैसा बोकेर सन् २०१२ तिर स्वदेशमै केही गर्ने प्रणले देश फर्किएका रहेछन् । नेपालमा उनले करिब २६ महिना व्यवसाय गरे । त्यस अवधिमा कतारको कमाइ सबै जसो खर्चिए । यहाँभन्दा दोब्बर मेहनत नेपालमा गरे । त्यति गर्दा पनि उनलाई खोइ के पो मिलेन । व्यवसायले अपेक्षाकृत गति लिनै सकेन । अमिलो मनले व्यवसायको फाइल बन्द गरेर उनी फेरि कतार फर्कने निर्णय गरे ।

    “नेपालमा काम गर्न दुःख छ, कतारमा त्योभन्दा बढी छ, दुःख नभएसम्म पैसा आउँदैन, कहाँ र कति दुःख गर्ने भन्ने मात्रै हो”, उनले सुनौलो नेपालसँग भने, “नेपालमा व्यवसाय जम्न नसके पनि कतारमा भने सुरुआतदेखि नै राम्रो भइरहेको छ । यसैमा सन्तुष्टि मिलिरहेको छ, त्यसैले फेरि नेपाल फर्किहालौँ भन्ने लाग्दैन ।”

    निराजन पहिलो पटक कतार आएको सन् २००६ को डिसेम्बरमा हो । गार्मेन्ट कम्पनीमा काम गर्न आएको तीन सातामै कम्पनी टाट पल्टियो । कम्पनीमा लामो समयदेखि काम गरेका नेपालीलगायतका साथीहरु स्पोन्सर परिवर्तन गरेर आफूले चाहेको कम्पनीमा जागिर खोज्नतर्फ लागे । तर, उनी नयाँ भएकाले आफैले स्पोन्सर खोज्न पाएनन् । कतारमा एक वर्ष पूरा नभइ आफूखुसी स्पोन्सर खोज्न नपाइने रहेछ ।

    त्यसैले उनी अरुकै भर परे । टाट पल्टिएको कम्पनीका सामानहरु लिलामी हुने भएकाले लिलामी नसकिँदासम्म त्यही कम्पनीमा काम पाइयो । यो प्रक्रिया तीन महिनासम्म चल्यो । तीन महिनापछि स्पोन्सरले अरेबियन कम्पनीमा सोही वर्गमा काम लगाइदियो ।

    त्यसपछिका नौ वर्ष उनले त्यही कम्पनीमा बिताए । त्यहाँ कमाएको पैसा लिएर उनी नेपालमा उद्यम गर्न आए तर सफल नभएपछि फेरि बिजनेस भिसामा उनी सन् २०१४ मा कतार नै फर्किए । त्यसयता कतार उनको निरन्तरको कर्म भूमि बनेको छ ।

    गार्मेन्ट कारखानामा कार्ड रिडरका रुपमा कतार आएका उनी यतिबेला दुई वटा कम्पनीको सञ्चालन गरिरहेका छन् । उनको कम्पनीले कतारमा ग्रीन पावर क्लिनिङ कम्पनीमार्फत ‘हाइ एक्सेस’को काम गरिरहेको छ । हाइ एक्सेस भनेको गगनचुम्बी भवन बाहिर डोरीको सहायतामा सफाइको काम हो । हेर्दै आङ जिरिङ हुने काम भने सुरक्षित रुपमा हुने गरेको उनले सुनाए ।

    “दोहाका अग्ला भवन बाहिर डोरीको सहायतामा काम पक्कै पनि जोखिमपूर्ण हो, तर यो देख्दा जति डर लाग्छ त्यति नै सुरक्षित पनि हुन्छ, यसप्रकारको काममा सुरक्षाका लागि त्यसैगरी मापदण्ड बनाइएको छ, पालना पनि भइरहेको छ”, उनले भने, “काम जोखिमपूर्ण मात्रै होइन, पैसा पनि सामान्य कामभन्दा दोब्बरभन्दा बढी हुन्छ ।”

    उनका अनुसार कम्पनीले करारमा काम गर्छ । केही समयअघिसम्म विश्वकपमा केन्द्रित कतारमा उनको कम्पनीमा कामको भ्याइनभ्याइ थियो । कम्पनीहरुले भने जति पैसा दिन्थे । व्यापार दिनप्रतिदिन उकालो लाग्दै थियो । तर विश्वकप सकिएपछि व्यवसायको ग्राफ ओरालो लागे जस्तो देखिएको छ । अहिले त्यो समयको तुलनामा ५० प्रतिशतभन्दा बढीले शुल्क घटेको छ ।

    उनका शब्दमा यो कतारमा विकासको ‘स्याचुरेसन’को संकेत पनि हो भन्दा फरक पर्दैन । किनभने कतार पूर्वाधार निर्माणमा निकै अगाडि छ । सडक र पुलहरु पछिल्ला दशकमा उल्लेख्य रुपमा निर्माण भएका छन् ।  अब निर्माणको काम पूरा भएर मर्मत सम्भारको काम चलिरहेको छ । सेवामुलक क्षेत्रमा भने कतारमा अझै पनि ठूलो सम्भावना छ ।

    निराजनको कम्पनीमा अधिकांश काम करारमै हुन्छ । कुनै कामका लागि निश्चित अवधिका लागि सम्झौता हुन्छ । सोहीअनुसार काम हुन्छ ।  धेरैजसो काम सफाइसम्बन्धी हुन्छ । पछिल्लो समय प्रतिस्पर्धा बढ्दो र विश्वकपपछि काम घट्दो छ । महंगो भने बढ्दो छ । तर, सस्तैमा भए पनि काम लिइराख्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    “विश्वकपको समयमा कतारमा आर्थिक गतिविधि निकै बढी थियो, हामीलाई कामको लोड निकै धेरै थियो, कहिले रंगशाला त कहिले ठूला भवन चहार्दा फुर्सदै थिएन, कैयौँ रंगशालामा मेरो कम्पनीले अहिले पनि काम गरिरहेको छ”, उनले भने । उनका अनुसार अहिले पनि कतिपय रंगशालामा उनको कम्पनीले पनि काम गरिरहेको छ । विश्वकपको समयमा व्यापार मात्रै होइन कतार पनि गुलजार भएको थियो । खुट्टा हाल्न ठाउँ नै नपाउने हो कि जस्तो भएको थियो । निराजन त्यो बेला कतार यूरोपको कुनै व्यस्त सहर जस्तै चम्किलो भएको थियो भन्छन् ।

    यद्यपि कतारमा उनको व्यवसाय अहिले राम्रै छ । त्यसैले नेपाल फर्किहाल्ने बारेमा सोच बनाइसकेका छैनन् । बरु कतारसँगै साउदी अरबमा पनि कम्पनी सुरु गर्ने योजना रहेको उनले सुनाए । दुवईमा भने शाखा विस्तार भइसकेको छ । शाखा विस्तारसँगै उनको सक्रियता पनि बढेको छ । कम्तीमा खाडी मुलुकमा व्यवसाय विस्तार गर्ने उनको सोच छ । तर, तत्कालै नेपाल फर्कने भन्ने सोच बनिसकेको छैन ।

    “नेपालमा व्यवसाय गर्न कागजी प्रक्रियादेखि नै अनावश्यक उल्झन छ । विगतमा त्यो समस्या भोगियो, कतारमा त्यो समस्या निकै कम छ, तर दिनरात भने खटिनुपर्छ । म पनि हर क्षण खटिएकै हुन्छु”, उनले भने, “पहिले जागिर गर्दा  काममा मात्रै केन्द्रित भए हुन्थ्यो भने अहिले जोखिम बढेको छ । चौतर्फीरुपमा सतर्क रहनुपर्छ ।” सबैभन्दा तनाब त कामदारलाई समयमै तलब दिनु हुन्छ । त्यसबोहक जोखिम त भइहाल्यो ।

    समाजसेवामा पनि उत्तिकै सक्रिय

    दुई वटा कम्पनी सञ्चालन गर्दाको व्यस्त दैनिकीबाट समय निकालेर उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । बागलुङ सेवा समाज दोहा कतारको अध्यक्ष पनि छन् । गत जनवरीमा भएको अधिवेशनबाट अध्यक्ष भएका उनलाई सामाजिक सेवाका लागि पनि प्राथमिकताका साथ समय छुट्याउनु पर्ने भएको छ । अध्यक्षका रुपमा दुई वर्षे कार्यकाल भए पनि सामाजिक कामलाई निरन्तर अगाडि बढाउने सोच रहेको उनले सुनाए ।

    अध्यक्षका रुपमा कतारमा भएका बागलुङगेहरुको समस्या समाधान गर्ने उनको जिम्मेवारी पनि हो । त्यति मात्रै होइन, गाउँमा विपद् पर्दा पनि उनी सहयोगका लागि अगाडि बढिहाल्छन् । केही समय अघि बागलुङको बडिगाड गाउँपालिकामा दुःखद् घटनाका पीडितको सहयोगका लागि उनी अध्यक्ष रहेको समाजका तर्फबाट सहयोग सुरु भइसकेको छ । आर्थिक संकलन जारी छ । त्रिपालदेखि, खाद्यान्न, स्वास्थ्योपचार जे सकिन्छ त्यही सहयोग गर्ने उनको सोच छ । विदेशमा भए पनि गाउँमा दुःख पर्दा विदेशमा दुःखेको मनले यत्तिकै बस्न दिँदै पनि ।

    उनी कतारमा मात्रै होइन, गृह जिल्लामा पनि सामाजिक काममा सेवारत छन् । “गाउँमा भएको नौ कोठे घरमा एक वर्ष निःशुल्क साना बालबालिका पढाउन उपलब्ध गराएको थिएँ । एक वर्षपछि अहिले त्यो काम स्थगित भएको छ”, उनले भने, “स्कुल टाढा हुँदा वडा नं ७ डाँडागाउँका बच्चा पढाइबाट बञ्चित नहोउन भने कक्षा सुरु गरिएको थियो । त्यो प्रभावकारी पनि बन्यो । आगामी दिनमा पनि यस्तै प्रकारका काम गर्ने योजना छ”, उनले भने ।

    फ्रि भिसामा नफस्नु

    निराजन कतारमा आउने नेपाली श्रमिकलाई फ्रि भिसा र फ्रि टिकटको लोभमा नफस्न सल्लाह दिन्छन् । उनका शब्दमा कतारमा फ्रि भिसा भन्ने नै छैन । तर, नेपाली र बंगालीहरु नै यो काममा लागिरहेका छन् । उनी नेपालबाट आउने श्रमिकलाई यस्ता अफरमा नफस्न र दलालहरुलाई त्यसो नगर्न अनुरोध गर्छन् ।

    “कतिपय एजेन्ट साथीहरुले यहाँ मान्छे ल्याएर यत्तिकै छाड्ने गरेका पनि छन् । जागिर आफै खोज भन्दा कैयौँ मानिस अलपत्र परेका  छन्, कृपया त्यसो नगर्न सबैमा अनुरोध गर्दछु”, उनले भने । यसरी दलाली गर्नेहरुमा पुरुष र महिला दुवै रहेको उनले सुनाए । यहाँ अस्थायी भिसा हुन्छ, त्यो नवीकरण भएन भने ठूलो जरिवाना लाग्छ । यस्तो घटनामा फस्नेहरुको संख्या धेरै रहेको उनले बताए । नेपालबाट कामदार मगाउने, काम र तलब भने अनुसार नदिने र विभिन्न आरोप लगाएर कम्पनीबाट निकाल्नेहरु पनि धेरै रहेकाले सर्तक हुनुपर्ने उनको भनाइ छ ।

    मुलुक विकास होस् 

    बंगलादेशमा सल्किएको आगो आफ्नै देशमा नसल्कियोस् भन्छन् निराजन । “बंगलादेशमा जे भयो त्यो नराम्रो भयो, विरोधमा पनि अनेक विकल्प छन् । त्यो समस्या नेपालमा नहोस् भन्ने चाहना छ । नेताले पनि यसबाट पाठ सिक्नुपर्छ भन्ने लाग्छ”, उनले भने ।

    बंगलादेशले आर्थिक  क्षेत्रमा राम्रो प्रगति गर्दा पनि समस्या आयो । भोलिका दिनमा त्यो समस्या अन्यत्र पनि देखिन सक्छ । त्यसैले समयमै जनताकेन्द्रित काम गर्न नेताहरुको उनको सुझाव पनि छ । अहिले मुलुकमा दुई ठूला दल मिलेर सरकार निर्माण भएकाले यो सरकारले राम्रो काम गरोस् भन्ने उनको चाहना छ । “यति बलियो सरकारले पनि काम गर्न सकेन भने अर्को कुन सरकारबाट अपेक्षा गर्ने ? त्यसैले यसलाई असफल हुने छुट छैन”, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend