काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् ।
उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उहाँको सम्झनामा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने बताए । उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रवार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे । प्रतिष्ठान बनायो छोड्यो गर्ने नभइ नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरुप हुनुपर्ने बताए ।
उनले नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताए । पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पती झैँ लगेको बताए । उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए ।
उनले भने, ‘सुवाषचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरुलाई पछ्याएर केही कामहरु गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाउँमा केन्द्रिय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु । यो यस्तो प्रतिष्ठान हामी एउटा प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो काम केही नगर्यो होइन । नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरुप चल्नेछ ।
अनिमात्रै त्यस्तो प्रतिष्ठानहरुको औचित्य हुन्छ । हामी अहिले रहेको अरु पनि प्रतिष्ठानहरुलाई जुन प्रतिष्ठानहरु निष्क्रिय छन्, सक्रिय छैनन् त्यस्ता प्रतिष्ठानहरुलाई सक्रिय बनाउँछौँ । नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने । अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फ्ड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरु अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो ।
पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नुभएको त । पुष्पलाल त कुद्नुभएको होइन नि । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ? अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ । अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरु सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ । यस्ता कुरालाई समयक्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनुपर्छ । कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन ।’
प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताए । उनले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने बताए ।