काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे । उनले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताए । उनले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पारे ।
उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले कांग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताए । उनले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ ।
दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुशी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ । त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन । मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्युको कुरा पनि होइन । त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरु छ । हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ ।
अहिलेको बेलामा एमाले र कांग्रेसको बीचमा सहमति भएको छ । यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ । धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो । हाम्रो पार्टी कमजोर बनाउनेहरु अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।’
सभापति देउवाले भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गरे । उनले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौति दिए । उनले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताए ।