logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • माओवादीलाई बर्तौलाको प्रश्न : सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ?

    माओवादीलाई बर्तौलाको प्रश्न : सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ?

    959
    Shares
    माओवादीलाई बर्तौलाको प्रश्न : सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ?

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको बिरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन् । आईतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसकेको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताए । उनले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ? भन्दै माओवादी सांसदहरुलाई प्रश्न गरे ।

    उनले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताए । सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताए । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताए ।

    उनले भने, ‘संसदको प्रभावकारिताका सन्दर्भमा बैठक बोलाउनु भयो । केही दिनअघि माओवादी संसदीय दलले आजबाट हाउस अवरुद्ध गर्ने निर्णय गर्नुभयो । त्यो निर्णयको कारण के थियो भने नेकपा एमालेका मान्य सांसद योगेश भट्टराईजीले माओवादीको र हिंसात्मक आन्दोलनको सन्दर्भसँग जोडेर एउटा विषय राख्नुभयो । त्यसमा माओवादीका तर्फबाट नियमापत्ति भएको थियो । त्यो नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार हाम्रो नियमावली बमोजिम सम्माननीय सभामुखज्युलाई छ । सम्माननीय सभामुखज्युले आज भन्दा अघिल्लो बैठकमा उहाँले निर्णय सुनाउनु भयो ।

    जुन शब्द असंसदीय रहेन, यो शब्द हटाइरहन परेन भन्नुभयो । उहाँहरुले सभामुखको त्यो निर्णयको बिरुद्धमा आन्दोलन गर्ने, संसदमा आन्दोलन गर्ने घोषणा गर्नुभयो । संसद अवरुद्ध गर्ने, चल्न नदिने निर्णय गर्नुभयो । यो बीचमा सभामुखज्युले समाधानका लागि पहल गर्नुभयो । यो महत्वपूर्ण छ । सम्माननीय सभामुखज्युले गरेको रुलिङ हेरक सांसदहरुले मान्नुपर्छ । हरेक सांसदले मान्ने कर्तव्य हुन्छ । नियमावलीले त्यो भन्छ ।

    नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखको हुन्छ । जुन निर्णय अन्तिम हुन्छ । जुन निर्णय सबैले मान्नुपर्छ । त्यसको खिलाफमा गएर माओवादी साथीहरुले जुन ढंगले निर्णय अस्वीकार गर्ने र निर्णय नसच्याएसम्म आन्दोलन गर्ने कुरा गर्नुभयो । यो बेठिक छ । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि यसले प्रश्न सिर्जना गरेको छ ।

    सभामुखज्युले संसदमा भनेको कुरा नमान्ने हो भने सभामा कसले भनेको कुरा मान्ने हो ? कसले गरेको रुलिङ आत्मसाथ गर्ने ? यो गम्भीर प्रश्न छ । संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले जे भन्छ, त्यस बमोजिम हामी सबै चलौँ ।’

    प्रमुख सचेतक बर्तौलाले संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले भनेअनुसार चल्न माओवादी सांसदहरुसँग आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend