logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य, यस अवधिमा ४० वटा बैठकमा के-के भयो ?

    राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य, यस अवधिमा ४० वटा बैठकमा के-के भयो ?

    406
    Shares
    राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य, यस अवधिमा ४० वटा बैठकमा के-के भयो ?

    काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रिय सभाको चालु चौथो अधिवेशन सोमबार (आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

    आजको बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो (आईतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै अध्यक्ष दाहालले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

    यस अवधिमा ४० वटा बैठक बसी जम्मा ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतित भएको अध्यक्ष दाहालले बताए । यस अधिवेशन अवधिमा १७ वटा बैठकमा शुन्य समय रहेको, उक्त शून्य समयमा ४४ जना सदस्यहरूले २ घण्टा ०२ मिनेट समय उपयोग गरेको बताए । १६ वटा बैठकमा विशेष समय रहेको र विशेष समयमा ५२ जना सदस्यहरूले २१ घण्टा ५६ मिनेट समय उपयोग गरेको उनले बताए । यस अधिवेशनका १ वटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।

    यस अधिवेशन अवधिमा राष्ट्रिय सभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई पारित गरी प्रतिनिधि सभामा पठाएको उनले बताए ।

    चालु अधिवेशनमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिनिधि सभामा उत्पति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण समेत भएको उनले बताए ।

    उनले यसै अधिवेशन अवधिमा नेपाल विश्वविद्यालय विधेयक २०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको र अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण भएको जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend