logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • ३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउन साहस ऊर्जाले हकप्रद सेयर निष्कासन गर्ने

    ३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउन साहस ऊर्जाले हकप्रद सेयर निष्कासन गर्ने

    658
    Shares
    ३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउन साहस ऊर्जाले हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको साहस ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलासय जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना बनाउन १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    सेयरधनीलाई हकप्रद सेयर निष्कासन, बोनस सेयर वितरणका साथै थप ऋण लिने प्रस्ताव पारित गर्न साहस ऊर्जाले कात्तिक ४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

    साहस ऊर्जाको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत अर्थात २८ करोड रुपैयाँ बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । सभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेपछि साहस ऊर्जाको चुक्ता पुँजी बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।

    त्यसपछि सत्प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ ।

    यसैगरी सभाले परियोजनाका लागि लिएको थप ऋण अनुमोदन गर्ने भएको छ । गत आर्थिक वर्षमा साहस ऊर्जाले ४१ करोड ६० लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको रिजर्भ एन्ड एक्युमुलेट प्रोफिट एन्ड लस २ अर्ब ५६ करोड रुपैयाँ छ ।

    गत वर्ष साहस ऊर्जाले बिजुली बेचेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको प्रति सेयर आम्दानी ११.८९ रुपैयाँ छ । प्रति सेयर कितावी मूल्य १ सय ७३.३३ रुपैयाँ छ ।

    बुढीगण्डकी आयोजना व्यवसायी दीपक मल्होत्राबाट साहस ऊर्जाले २ अर्ब रुपैयाँमा खरिद गरेको हो । मल्होत्राले टाइम्स इनर्जी प्रालिमार्फत बुढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना बनाउन लागेका थिए । उनलाई लगानी जुटाउन धौ धौ परेका बेला साहस ऊर्जाले उनलाई साथ दिएको छ ।

    नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ । आयोजना बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।

    अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

    आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ । कुल हेड ३ सय ९८ मिटर रहने छ ।

    सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने छ । दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको छ ।

    आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ । बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ ।

    बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ । बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । बाँधको उचाइ ३८ मिटर हुनेछ ।

    विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ । आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ । यो सबस्टेसन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले बनाउन लागेको हो ।

    आयोजना गण्डकी प्रदेश गोरखा जिल्ला चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ । टाइम्स इनर्जी २०६७ मा स्थापना भएको हो ।

    साहस ऊर्जाले निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना बनाएको अनुभव छ । कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) आयोजना बनाई अहिले सञ्चालनमा छ । आयोजनाले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गरिरहेको छ ।

    साहस ऊर्जाकै लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।

    साढे ६ किलोमिटर लामो सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको छ । साधारण लगानी फिर्ता अवधि व्यावसायिक उत्पादनपछि ५/५ वर्ष छ । निर्माण थालेको ५ वर्षमा व्यावसायिक उत्पादन गर्न सकिने संभाव्यता अध्ययनले देखाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend