२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउन साहस ऊर्जाले हकप्रद सेयर निष्कासन गर्ने

बुधवार , आश्विन २, २०८१

काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको साहस ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलासय जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना बनाउन १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सेयरधनीलाई हकप्रद सेयर निष्कासन, बोनस सेयर वितरणका साथै थप ऋण लिने प्रस्ताव पारित गर्न साहस ऊर्जाले कात्तिक ४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

साहस ऊर्जाको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत अर्थात २८ करोड रुपैयाँ बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । सभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेपछि साहस ऊर्जाको चुक्ता पुँजी बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।

त्यसपछि सत्प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ ।

यसैगरी सभाले परियोजनाका लागि लिएको थप ऋण अनुमोदन गर्ने भएको छ । गत आर्थिक वर्षमा साहस ऊर्जाले ४१ करोड ६० लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको रिजर्भ एन्ड एक्युमुलेट प्रोफिट एन्ड लस २ अर्ब ५६ करोड रुपैयाँ छ ।

गत वर्ष साहस ऊर्जाले बिजुली बेचेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको प्रति सेयर आम्दानी ११.८९ रुपैयाँ छ । प्रति सेयर कितावी मूल्य १ सय ७३.३३ रुपैयाँ छ ।

बुढीगण्डकी आयोजना व्यवसायी दीपक मल्होत्राबाट साहस ऊर्जाले २ अर्ब रुपैयाँमा खरिद गरेको हो । मल्होत्राले टाइम्स इनर्जी प्रालिमार्फत बुढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना बनाउन लागेका थिए । उनलाई लगानी जुटाउन धौ धौ परेका बेला साहस ऊर्जाले उनलाई साथ दिएको छ ।

नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ । आयोजना बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।

अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ । कुल हेड ३ सय ९८ मिटर रहने छ ।

सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने छ । दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको छ ।

आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ । बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ ।

बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ । बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । बाँधको उचाइ ३८ मिटर हुनेछ ।

विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ । आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ । यो सबस्टेसन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले बनाउन लागेको हो ।

आयोजना गण्डकी प्रदेश गोरखा जिल्ला चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ । टाइम्स इनर्जी २०६७ मा स्थापना भएको हो ।

साहस ऊर्जाले निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना बनाएको अनुभव छ । कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) आयोजना बनाई अहिले सञ्चालनमा छ । आयोजनाले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गरिरहेको छ ।

साहस ऊर्जाकै लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।

साढे ६ किलोमिटर लामो सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको छ । साधारण लगानी फिर्ता अवधि व्यावसायिक उत्पादनपछि ५/५ वर्ष छ । निर्माण थालेको ५ वर्षमा व्यावसायिक उत्पादन गर्न सकिने संभाव्यता अध्ययनले देखाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट