पोखरा । आगामी २३ सेप्टेम्बर २०२६ देखि पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । त्यसका लागि टिकट बुकिङसमेत खुला गरिएको छ ।
इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन् ।
१ जनवरी २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । त्यसमा नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन । अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवा दिन सफल भएको छ ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल पूर्वाधार परियोजना मात्र नभई यो पोखरेलीहरूको दशकौँदेखिको सपना र संघर्षको प्रतिफल भएको बताउँछन् ।
उनले नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षा गरेअनुसार उपलब्धि हासिल हुन सके पनि अब दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।
उनले पोखराबाट दुबईको नियमित हवाई सेवा सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस