काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको सरकारको ध्यानाकर्षण गराएका छन् ।
आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निश्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसद्मा पेस भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गरे ।
करको दर सरकारले आफूखुसी बदल्न नपाइने विषयलाई ध्यान दिन उनले आग्रह गरे । बाढीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराए ।
सांसद युवराज दुलालले बजेटले जेनजी आन्दोलनको भाव समेट्न नसकेको बताए । उनले मेलम्ची आयोजना प्रभावितको विषय बजेटमा समेट्नुपर्नेमा जोड दिए ।
सांसदहरु सुरेन्द्र चौधरी, चन्द्रमोहन यादव, आनन्दबहादुर चन्द, खड्ग शाही, समीक्षा बास्कोटा, मोहनलाल आचार्य, सोम शर्मा, आशीष गजुरेल, जनकसिंह धामी, भरतप्रसाद पराजुली, आकृति अवस्थी, गोविन्द पन्थी, कमल सुवेदीलगायतले जल, जमिन, जङ्गल र जनशक्तिको सदुपयोग गर्नुपर्ने, चुरे क्षेत्रका लागि बजेट बढाउनुपर्ने, धार्मिक पर्यटकीयस्थलको विकास गरेर धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस