काठमाडौँ । चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा कलेजले नयाँ विद्यार्थीहरूलाई संस्थाबारे विस्तृत जानकारी गराएको थियो। अभिमुखीकरणका रूपमा आयोजना गरिएको कार्यक्रम विविध प्रस्तुति र गतिविधिका कारण थप आकर्षक र उत्साहपूर्ण बनेको थियो।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्प्रेरक वक्ता तथा प्रशिक्षक सौरभ लोहनी, युवामाझ लोकप्रिय रकहेड ब्याण्ड, चर्चित गायक कर्णराज गिरी, जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान, सञ्चालक समिति सदस्यहरू, शिक्षक–शिक्षिका, कर्मचारी, कक्षा १२ का विद्यार्थी तथा कक्षा ११ मा भर्ना भएका १२०० भन्दा बढी नयाँ विद्यार्थी सहभागी भएका थिए।
स्वागत मन्तव्यका क्रममा कक्षा १२ मा व्यवस्थापन संकाय अध्ययनरत छात्रा अभियान घिमिरेले मनास्लु परिवारमा नयाँ साथीहरूलाई स्वागत गर्न पाउँदा गर्व लागेको बताइन्। एक वर्षअघि आफू पनि यही स्थानमा बसेर नयाँ यात्राको सुरुवात गरेको स्मरण गर्दै उनले मनास्लु रोजेको निर्णय सही साबित भएको अनुभव सुनाइन्।
उनले मनास्लुले विद्यार्थीलाई केवल शिक्षित मात्र नभई सर्वाङ्गीण रूपमा सक्षम बनाउने र ‘लर्नर’बाट ‘लिडर’ बन्ने अवसर प्रदान गर्ने उल्लेख गरिन्। साथै, यहाँबाट अध्ययन पूरा गरेर बाहिरिने विद्यार्थी आफ्नो रुचि र क्षमताको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।
कलेज र अभिमुखीकरण कार्यक्रमबारे जानकारी दिँदै क्याम्पस प्रमुख श्रेष्ठले उपस्थित अतिथि तथा अभिभावकप्रति आभार व्यक्त गरे। मनास्लु टिमको एकता र समर्पणकै कारण संस्थाले निरन्तर प्रगति गरिरहेको उनको भनाइ थियो।
उनले जीपीए मात्र भविष्य निर्धारण गर्ने आधार नभएको उल्लेख गर्दै विद्यार्थीलाई नतिजाबाट अत्यधिक उत्साहित वा निराश नहुन सुझाव दिए। मनास्लुले प्रत्येक विद्यार्थीभित्र रहेका क्षमताको पहिचान गरी करियर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भविष्यमा विद्यार्थीहरूले आफ्नो छनोटप्रति गर्व गर्ने वातावरण निर्माण गरिने बताए।
कार्यक्रमका अवसरमा ‘मिस्टर एण्ड मिस मनास्लु २०२५’ का विजेता रोशिन ढकाल र अस्बिन गुरुङलाई सम्मान गरिएको थियो। सम्मानपछि मन्तव्य राख्दै मिस मनास्लु विजेता ढकालले मनास्लुसँग बिताएको समय आफ्नो जीवनको अविस्मरणीय अध्याय बनेको बताइन्। साधारण विद्यार्थीका रूपमा प्रवेश गरेर मिस मनास्लु तथा ब्रान्ड एम्बेसडरसम्मको यात्राले आफ्नो क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनले कलेजप्रति आभार व्यक्त गरिन्।
सामान्यतया अभिमुखीकरण कार्यक्रम नियम तथा प्रक्रियाबारे जानकारी दिने माध्यमका रूपमा सीमित रहने भए पनि मनास्लुले यसलाई प्रेरणा, मनोरञ्जन र सफलताका अनुभव साटासाट गर्ने अवसरका रूपमा प्रयोग गरेको थियो। उत्प्रेरक वक्ता सौरभ लोहनीको प्रस्तुतिले विद्यार्थीहरूलाई शैक्षिक यात्राका लागि थप ऊर्जा र आत्मविश्वास प्रदान गरेको थियो।
त्यसैगरी, मनास्लुको आफ्नै ब्यान्डसहित विभिन्न कलाकार तथा अतिथि ब्यान्डका सांगीतिक प्रस्तुति, र्याप, दोहोरी, नृत्य, गायन तथा जादु प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो। कार्यक्रमको सुरुवातमा प्रस्तुत स्वागत नृत्यले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा कक्षा ११ मा अध्यापन गराउने शिक्षकहरूको परिचय गराइएको थियो भने सह–प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका गतिविधि, उपलब्धि, आगामी योजना तथा विद्यार्थीले पालन गर्नुपर्ने विषयहरूबारे जानकारी गराएका थिए।
यस अवसरमा विभिन्न परीक्षा तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो। ‘मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्ड’ अन्तर्गत कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शीर्ष १० विद्यार्थीलाई सम्मान गरिएको थियो।
विभिन्न संकायका ९९७ विद्यार्थीमध्ये सर्वाधिक अंक प्राप्त गरी कलेज टपर बन्न सफल देवेन्द्र दाहाललाई कक्षा १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, १० हजार रुपैयाँ नगद, सम्मानपत्र तथा छात्रवृत्ति कार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै एकेडेमिक डाइरेक्टर शशी केसीले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए। यस्ता पुरस्कारले विद्यार्थीलाई थप मेहनत गर्न र अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।
समापन मन्तव्यका क्रममा अध्यक्ष लामाले मनास्लु आफ्नो लक्ष्यमा पुगिसकेको संस्था नभई निरन्तर यात्रामा रहेको संस्था भएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरे।
लामाले मनास्लुमाथि विश्वास गरेर भर्ना भएका १२०० भन्दा बढी विद्यार्थीप्रति आभार व्यक्त गर्दै त्यो विश्वास कायम राख्ने प्रतिबद्धता जनाए। उनले मनास्लुको स्थापना, मिसन–भिजन, संघर्ष, उपलब्धि र आगामी योजनाबारे चर्चा गर्दै संस्थाको सफलताको श्रेय सम्पूर्ण मनास्लु टिमलाई जाने बताए।
कार्यक्रममा देखाइएका गतिविधिहरू नै कलेजले वर्षभर सञ्चालन गर्ने शैक्षिक तथा अतिरिक्त कार्यक्रमहरूको प्रतिनिधित्व भएको उल्लेख गर्दै उनले आफ्नो मन्तव्य टुंग्याएका थिए।
प्रतिक्रिया दिनुहोस