तीन महिनासम्म मौन देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार सार्वजनिक कार्यक्रममा देखिए । लामो समयपछि मञ्चमा आएका ओलीलाई धेरैले फरक शैलीमा प्रस्तुत हुने अपेक्षा गरेका थिए । जेनजी आन्दोलन, निर्वाचनमा पराजय, पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस, व्यक्तिगत क्षति र राजनीतिक दबाबपछि ओलीले आत्मसमीक्षाको बाटो रोज्लान् भन्ने अनुमान एमालेभित्रै थियो ।
तर बुधबारको कार्यक्रममा देखिएको ओलीको प्रस्तुति भने अपेक्षा विपरीत रह्यो । उनी फेरि पुरानै आक्रामक शैलीमा प्रस्तुत भए— विरोधीमाथि प्रहार, आलोचकलाई चुनौती र आफ्नो निर्णयको बचाउमा केन्द्रित उही भावभङ्गीमा ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र अध्यक्ष ओली मात्रै वक्ता रहेको कार्यक्रममा ओलीले जेनजी आन्दोलनमा आफ्नो कुनै कमजोरी नरहेको दाबी दोहोर् याए । उनले आन्दोलन योजनाबद्ध भएको आरोप लगाउँदै सुरक्षा निकायदेखि राज्यका विभिन्न अंगमाथि समेत प्रश्न उठाए ।
ओलीले चुनावी सरकारको नेतृत्व गरेकी सुशीला कार्की, नेपाली सेना, राष्ट्रपति, अदालत, मानव अधिकार आयोग, सभामुख र वर्तमान सरकारसम्मलाई टिप्पणीको घेरामा ल्याए ।
एमाले पंक्तिभित्र धेरैको अपेक्षा थियो— चुनावी धक्कापछि ओलीले पार्टीको अवस्थामाथि गम्भीर समीक्षा गर्नेछन्, कमजोरी स्वीकार गर्नेछन् र नयाँ पुस्तालाई अघि बढाउने बाटो खोल्नेछन् । तर बुधबारको अभिव्यक्तिले त्यो अपेक्षा पूरा भएन ।
बरु ओलीले निर्वाचनको परिणामबारे आफू पहिले नै जानकार रहेको दाबी गरे । पराजयको कारण खोज्नेभन्दा पनि बाह्य शक्तिमाथि दोष केन्द्रित गर्ने शैली देखियो । जस्तो निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गरेको मसि,उमेदवार खारेज भएका व्यक्तिको मत बढी आउनु लगायतका कमजोर तथ्यहरु ओलीले सार्वजनिक गरे ।
भदौ २३ र २४ गतेका घटनाबारे छानबिन आयोगमा बयान नदिएको ओलीको दाबी पनि विवादमा परेको छ । यसअघि नै उनले आयोगमा बयान दिएको विवरण सार्वजनिक भइसकेको थियो ।
केही राजनीतिक विषयमा ओलीले उठाएका प्रश्नमाथि बहसको ठाउँ भए पनि कतिपय विषयमा उनको आक्रामक प्रस्तुति नै मुख्य चर्चाको विषय बन्यो । आफ्नो पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला ओलीले नेताहरूमाथि समेत असन्तुष्टि पोख्दै “शिर काटेर टेबुलमा राख्दैमा पार्टी बलियो हुँदैन” भन्ने अभिव्यक्ति दिए ।
सचिवालयमा समेत दबाबमा रहेका ओलीले केही दिनअघि पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेका थिए । तर बुधबारको भाषणले उनी तत्काल नेतृत्वबाट पछि हट्ने अवस्थामा नरहेको सन्देश दिएको छ ।
आफू अझै लामो समय सक्रिय रहने र विधिसम्मत प्रक्रियाबाट मात्रै नेतृत्व हस्तान्तरण हुने ओलीको भनाइले पनि एमालेभित्रको नेतृत्व संघर्ष अझै लम्बिने संकेत गरेको छ ।
विद्या भण्डारीको सदस्यता नवीकरण विषयमा भने ओली केही नरम देखिए । उनले यसलाई सामान्य प्रक्रिया भन्दै कुनै असाधारण विषय नभएको संकेत गरे ।
एमालेको अहिलेको कमजोर अवस्थाको कारण खोज्नुपर्ने आवाज पार्टीभित्रै उठिरहेको छ । धेरै नेता–कार्यकर्ताको बुझाइमा नेतृत्वशैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा सुधार आवश्यक छ ।
तर तीन महिनापछि फर्किएका ओलीले सुधारको संकेतभन्दा पुरानै टकरावको बाटो रोजेपछि अब एमालेको आगामी दिशा अझै अनिश्चित बनेको छ ।
परिवर्तनको अपेक्षाबीच फर्किएका ओलीले बुधबार एउटा प्रश्न भने छाडे— ‘एमाले बदलिँदैछ कि ओलीकै पुरानो शैलीमा अघि बढ्दैछ ?
प्रतिक्रिया दिनुहोस