विराटनगर । कृष्णप्रसाद भण्डारी ‘मार्सेली’द्वारा स्थापित १५ हजार रुपैयाँ राशिको ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार–२०८२’ यस वर्ष विराट साहित्य सङ्गमलाई प्रदान गरिएको छ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मोरङको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेललाई उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।
२०८१ सालमा स्थापना गरिएको यो पुरस्कार संस्थाको स्थापना दिवसकै अवसरमा प्रत्येक वर्ष प्रदान गरिने संस्थाका उपाध्यक्ष तुलसीनारायण अधिकारीले जानकारी दिए ।
मोरङका राष्ट्रसेवक कर्मचारीहरूद्वारा स्थापित सहकारीको स्थापना दिवस समारोहमा २१ जना अक्षयकोष संस्थापक तथा सहकारी स्थापनामा योगदान पुर्याउने १६ जना संस्थापकलाई पनि सम्मान गरिएको छ ।
संस्थाका ज्येष्ठ सदस्यहरू कृष्णप्रसाद अधिकारी, कृष्ण न्यौपाने र महेन्द्रनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अक्षयकोषहरूको सँगालोका रूपमा तयार पारिएको ‘स्मृतियात्रा’ नामक पुस्तकको समेत सार्वजनिक गरिएको थियो ।

सहकारीका अध्यक्ष जीवन काफ्लेले संस्थाले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै सहकारीमा हाल २८ लाख रुपैयाँभन्दा बढी रकमका २१ वटा अक्षयकोष स्थापना भइसकेको बताए । आगामी साधारणसभाबाट अक्षयकोष सञ्चालन तथा व्यवस्थापनअन्तर्गत विभिन्न सम्मान र पुरस्कार कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाइने उनले जानकारी दिए ।
संस्थाले गत आर्थिक वर्षमा नियमित वित्तीय कारोबार र खाद्यान्न बिक्री–वितरणसँगै सामाजिक, शैक्षिक तथा सङ्गठनिक क्षेत्रमा विविध गतिविधि सञ्चालन गरेको जनाएको छ । सहकारीले आधारभूत सहकारी शिक्षा, स्वास्थ्य परीक्षण, सहकारी प्रवर्द्धन, सांगीतिक कार्यक्रम, बाल सम्मान तथा खुला कविता प्रतियोगिता आयोजना गरेको थियो ।
साथै, शेयर सदस्यका लागि शिशुपोषण, स्वास्थ्यलाभ र परिवार राहत कार्यक्रम सञ्चालन गर्नुका साथै सदस्य तथा तिनका सन्ततिलाई शैक्षिक सम्मान प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस