विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ ।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) भित्र रहेको नेपाल कस्टम यार्ड (एनसीवाई) सम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै पूर्वी नेपालको व्यापार तथा औद्योगिक क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ ।
शुक्रबार कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आवश्यक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल आइतबार विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ । रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (भ्ऋत्क्) जडान गरिएको छ, जसले ढुवानी प्रक्रियालाई सुरक्षित, पारदर्शी तथा प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा गरेका हुन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार सेवा नियमित रूपमा सञ्चालनमा आएपछि उद्योगी–व्यवसायीले आयात प्रक्रियामा लाग्ने समय र लागत दुवै उल्लेखनीय रूपमा बचत गर्न सक्नेछन् ।

पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर सिधै विराटनगर ल्याउन सकिने व्यवस्था हुनेछ ।
यसअघि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस मार्गको उद्घाटन गरे पनि नीतिगत जटिलताका कारण सेवा नियमित हुन सकेको थिएन ।
भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले नियमावलीमा आवश्यक संशोधन गर्दै प्रक्रियागत व्यवस्था मिलाएपछि अहिले यो सेवाले स्थायी र औपचारिक रूप लिएको हो । यसअघि यस्ता कार्गो रेल सेवा मुख्यतः वीरगञ्ज नाकामा मात्र सीमित थियो ।

व्यवसायी उत्साहित
कोलकाताबाट पहिलो कार्गो रेल विराटनगरतर्फ प्रस्थान गरेको खबरसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित भएका छन् । उनीहरूका अनुसार तेस्रो मुलुकबाट आयात गरिने मालसामान अब भारतीय रेल्वे सञ्जाल हुँदै सिधै विराटनगरको नेपाल कस्टम यार्डसम्म आइपुग्ने भएपछि ढुवानी प्रक्रिया सहज, छिटो र कम खर्चिलो हुनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल–भारत पारवहन सम्झौताअनुसार भारतीय रेलमार्ग र भन्सार विन्दुको प्रयोग गरी सिधै विराटनगरसम्म कार्गो ल्याउने व्यवस्था कार्यान्वयनमा आउनु लामो समयदेखिको पहलको उपलब्धि भएको बताए ।
उनका अनुसार यसअघि कार्गो रेल भारतको बथनाहा रेल्वे स्टेशनसम्म मात्र आउने र त्यहाँबाट ट्रकमार्फत उद्योगसम्म ल्याउँदा दोहोरो लोड–अनलोड गर्नुपर्ने, अतिरिक्त खर्च बेहोर्नुपर्ने तथा समयसमेत बढी लाग्ने समस्या थियो ।
अब भने कार्गो सिधै नेपाली कस्टम यार्डमै आइपुग्ने भएकाले ढुवानी लागत उल्लेखनीय रूपमा घट्ने र उद्योगहरूको उत्पादन लागतसमेत कम हुने अपेक्षा गरिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पनि कोलकाताबाट नेपालका लागि सिधै कार्गो रेल सञ्चालन सुरु हुनु सकारात्मक उपलब्धि भएको बताए । उनका अनुसार भारतीय कस्टम यार्डको सट्टा नेपालतर्फको आईसीपी यार्ड प्रयोग गर्दा उद्योगीहरूले प्रति टन ६४ रुपैयाँदेखि २०० रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था रहेको थियो ।
अहिले विभिन्न वस्तुमा शुल्क संरचनामा सुधार भएको जानकारी आएको भए पनि त्यसको वास्तविक प्रभाव रेल नियमित सञ्चालनपछि मात्रै स्पष्ट हुने उनले बताए ।
राठीका अनुसार अहिलेको प्रारम्भिक अनुमानअनुसार रेलमार्फत ढुवानी गर्दा उद्योगीहरूको ढुवानी खर्च करिब ४० प्रतिशतसम्म घट्न सक्ने सम्भावना रहेको छ । यद्यपि रेलको र्याक आईसीपीमा आइपुगेपछि सञ्चालनका क्रममा देखिने व्यवहारिक समस्या र त्यसको समाधान पनि परीक्षणकै क्रममा स्पष्ट हुने उनले बताए ।

पूर्वाधार व्यवस्थापनमा जोड
उद्योगी–व्यवसायीहरूले सिधै रेल कार्गो सेवा सञ्चालनलाई ठूलो अवसरका रूपमा स्वागत गरे पनि विराटनगर कस्टम यार्डको पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । उनीहरूका अनुसार ढुवानी सहज हुनु मात्र पर्याप्त नभई यार्डमा सामान सुरक्षित रूपमा भण्डारण गर्ने व्यवस्था पनि उत्तिकै महत्वपूर्ण छ ।
विशेषगरी वर्षा, घाम वा अन्य प्राकृतिक प्रभावबाट कच्चा पदार्थ तथा आयातित सामान क्षति नहुने गरी व्यवस्थित गोदाम, छाना र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरूको माग छ।
यार्डमा ल्याइएका कार्गो सुरक्षित रहने विश्वसनीय वातावरण बनेमा मात्रै यो सेवा दीर्घकालीन रूपमा सफल हुने, उद्योगहरूको उत्पादन लागत घट्ने तथा पूर्वी नेपालको निर्यात प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने उद्योगीहरूको विश्वास छ ।




प्रतिक्रिया दिनुहोस