विराटनगर । विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
घटनापछि विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन । भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।
उनीहरूलाई सोमबार बिहान करिब १० बजे नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश (म्यासेज) पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
छात्रामाथि यौनजन्य दुर्व्यवहारसमेत भएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको छ । घटनाको वास्तविक प्रकृति र संलग्नताको अन्तिम निष्कर्ष भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।
डीएसपी मिश्रले अनुसन्धान जारी रहेको र थप व्यक्ति संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने बताए। साथै, घटनासम्बन्धी सामाजिक सञ्जालमा अनावश्यक वा भ्रामक टिप्पणी नगर्न तथा अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
यस घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सुकुना माध्यमिक विद्यालयलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
नगरपालिकाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोपलाई गम्भीर र खेदजनक भन्दै आवश्यक छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न विद्यालय व्यवस्थापनलाई निर्देशन दिएको छ । साथै, कारबाहीको प्रगति विवरण नगरपालिकामा उपलब्ध गराउन पनि भनिएको छ ।
घटनापछि विद्यालयमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । उनीहरूले दोषीमाथि कानुनअनुसार कडा कारबाहीको माग गरेका छन् ।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाउँदै प्रमाणका आधारमा दोषी ठहरिने जोकोहीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस