काठमाडौं। काठमाडौंको बौद्ध गेटअगाडि खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले सोमबार अपराह्न आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ भने हाल कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेको तिमाल गाउँपालिका स्थायी घर भई हाल बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङ ले सोमबार बेलुकी करिब पौने ४ बजे बौद्ध गेटअगाडि आफ्नै शरीरमा आगो लगाएकी हुन्।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा तत्काल उनको उद्धार गरी गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पु¥याइएको थियो। तर, शरीरको ठूलो भाग जलेर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गुरुङको उपचार आईसीयूमा भइरहेको छ र चिकित्सकको निगरानीमा राखिएको छ ।
प्रहरीका अनुसार विवाहित गुरुङ बौद्ध क्षेत्रमा लामो समयदेखि खाजाघर सञ्चालन गर्दै आएकी थिइन्। उनले आत्मदाहको प्रयास किन गरिन् भन्ने विषयमा हालसम्म कुनै ठोस कारण खुल्न नसकेको एसपी भट्टराइले जानकारी दिए ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा परिवारका सदस्य र आफन्तसँग पनि बयान लिने तयारी गरिरहेको जनाएको छ। घटनास्थलमा भेटिएका सामग्री, सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको भट्टराइले जानकारी दिए ।
विगत १५ दिनको अवधीम मात्रै आत्मदाहबाट तिन जनाको मृत्यु भइसकेको छ । मुगुका गणेश नेपालीले आत्मदाह गरेपछि आत्मदाहको घटना सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस