logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

    बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

    567
    Shares
    बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

    ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो ।

    ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।

    शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ ।

    बाढीले आफ्ना छ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खुपुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताइन् । उनले भनिन्, “शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्नेबित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो । हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।”

    ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् ।

    करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । उनले भने, “समाचारकानुसार बाढी आउलाकि भनेर हामी सचेत त थियौँ तर तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरु सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।”

    त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने एकीन गर्न नसकिएको स्थानीय बताउँछन् ।

    नख्खु खोलाले क्षति पुर्याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend