logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

    पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

    889
    Shares
    पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

    काठमाडौँ । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिराेमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ ।

    सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् ।

    बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात/सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक/एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन् ।

    काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ । यस्तै सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ । कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन/तीन, सुनसरी र इलाममा दुई/दुई, तेह्रथुम र ओखलढुङ्गामा एक/एक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

    बाढीपहिरोबाट २०४ को मृत्यु

    विपद्का घटनामा परी देशभर दुई सय चार जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन् । अझै ३३ जना हराइरहेका छन् । कोशीमा २३, मधेसमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    बाढीपहिरोबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ । पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ ।

    यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ । विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend