logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • महिला साफ च्याम्पियनसिपको तयारी पूरा

    महिला साफ च्याम्पियनसिपको तयारी पूरा

    357
    Shares
    महिला साफ च्याम्पियनसिपको तयारी पूरा

    काठमाडौं । नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ ।

    आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको तयारी पूरा भएको जनाएको छ ।

    लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । यस सातौं संस्करणमा पाकिस्तान सहभागी नहुने चर्चा चलेको थियो ।

    यद्यपि, अहिलेसम्म त्यसबारे कुनैपनि जानकारी नआएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।
    च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् ।

    आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ । हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ ।

    भर्खर एन्फा महिला लिगको पहिलो चरण पूरा भएको छ । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यो टोलीबाट मंगलवार मात्र २७ खेलाडी छनोट भएका छन् । एन्फाको प्रतियोगिता संयोजक सञ्जीव मिश्रले यसअघि विश्वकप छनोट चरणका खेल नहुनुका साथै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा पारो एएफसी र चर्च ब्वाइजबीचको प्रतिष्पर्धाका क्रममा दशरथ रंगशालाको अवस्थाबारे भएको आलोचना नदोहोरिने बताए ।

    आगामी २७ गते म्याच कमिसनर आउने र त्यसअघि नै मैदान र अन्य आवश्यक पक्षबारे राम्रोसँग तयार हुने मिश्रको भनाइ छ । उनले यसल्ट उत्कृष्ट मैदान र वातावरण दिन तयार तयार रहेको बताए ।

    विदेश लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीले पनि साफ च्याम्पियनसिप खेल्ने मिश्रले बताए । यसबारे खेलाडीसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । प्रतियोगिता हुनुभन्दा तीन दिन अगाडि रिलिज हुने उनको विश्वास छ ।

    यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फाले उल्लेख गरेको छ । यस च्याम्पियनसिपको अनुमानित बजेट चार करोड ६० लाख ८०० रुपैयाँ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend