logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • मुलुककै ठूलो माथिल्लो तामाकोसीको मर्मत जारी, एक महिनाभित्र सञ्चालनमा ल्याउने

    मुलुककै ठूलो माथिल्लो तामाकोसीको मर्मत जारी, एक महिनाभित्र सञ्चालनमा ल्याउने

    1.5K
    Shares
    मुलुककै ठूलो माथिल्लो तामाकोसीको मर्मत जारी, एक महिनाभित्र सञ्चालनमा ल्याउने

    काठमाडौं । मुलुककै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

    अहिले आयोजना एक महिनाभित्र सञ्चालनमा ल्याउन फूलफेजमा काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका समेत अध्यक्ष रहेका कुलमान घिसिङले बताए । दसैंमा पनि आयोजनाको काम नरोक्ने गरी धमाधम मर्मतको काम जारी रहेको उनले सुनाए ।

    यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको छ ।

    बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको अपर तामाकोसीले जनाएको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्रयान, ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुईवटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुङ्गाल थुप्रिएको अनुमान गरिएको छ ।

    कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो ।

    तामाकोसी हाइड्रोपावर लिमिटेडले दैनिक ४ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ ।
    सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युतगृह बन्द हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्तिका लागि समस्या त परेकै छ, यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ । विद्युतगृह चलाउन नसके हिउँदमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ ।

    आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन भइरहेको छ । बिजुली बेचेर अपर तामाकोसीले वार्षिक झण्डै ९ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ ।

    यो पनि :

    क्षतिग्रस्त मुलुककै ठूलो माथिल्लो तामाकोसी मर्मत गर्न पहल सुरु, कहिले होला बिजुली उत्पादन ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend