काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारीसभा कसैलाई बचाउनका लागि नभएको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा बोल्दै उनले खबरदारीसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका हुन् ।
माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै उनले भने, ‘खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।’
उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताए ।
उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए । उनले सहकारी ठगी प्रकरणमा सभापति लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताए ।
उनले आफूसँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने सरकारको तयारी बेठीक भएको बताए ।