logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चितवनमा सयपत्री फूलखेती गर्ने घटे

    चितवनमा सयपत्री फूलखेती गर्ने घटे

    455
    Shares
    चितवनमा सयपत्री फूलखेती गर्ने घटे

    चितवन । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो ।

    फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो ।

    अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ । अहिले तिहार लक्षित फूलखेती गर्ने किसानको सङ्ख्या पनि घटेको उनले जानकारी दिए । उनले भने, “गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले फूलखेती गरेका थिए, अहिले गरेनन् ।” गत वर्ष जिल्लामा लगाइएको फूल बिक्री हुनसमेत निकै समस्या भएको उनले बताए ।

    चितवनमा यस वर्षको तिहारमा तीन लाख ५० हजार फूलका मालाको माग हुने अनुमान गरिएको छ । अध्यक्ष सापकोटाका अनुसार यहाँ उत्पादित फूलले चितवनलाई पुग्ने हुँदा यस वर्ष भारतबाट आयात गर्नुपर्ने अवस्था छैन ।

    गत वर्ष केही भारतीयले भारतबाट बढी फूल आयात गरिदिँदा यहाँका किसानले उत्पादन गरेका फूलले बजार पाउन नसकेको भए पनि यस वर्ष त्यस्तो अवस्था नआउने उनले विश्वास व्यक्त गरे । एसोसिएसनले जिल्लामा मालाको मूल्य तोकेको छ । उनले भने,’थोक मूल्य प्रतिमाला रु ६० र खुद्रा मूल्य रु १०० तय गरिएको छ ।”

    जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्ने तीन/चारजना भएको भए पनि ‘सिजनेवल’ फूलखेती गर्नेहरु आमा समूहदेखि व्यक्तिहरुसमेत हुने गरेका छन् । एक कट्ठादेखि बिगौँ बिगाहा क्षेत्रफलसम्म फूलखेती गर्नेहरु रहेको सापकोटाले बताए । भरतपुर महानगरपालिका–७ उज्ज्वलटोलका ईश्वरकुमार श्रेष्ठले यस वर्ष १३ कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् ।

    जिल्लामा यस वर्ष फूलको माग बढी हुने उनले बताए । उनका अनुसार गत वर्ष भारतीय फूल बढी आयात हुँदा यहाँ उत्पादन भएका फूलमाला कम बिक्री भएका थिए । त्यस कारण गत वर्षको तुलनामा फूल उत्पादन गर्ने किसान कम हुँदा यस वर्षको तिहारमा फूलको माग बढी हुने उनले बताए ।

    तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछिल्लो समय सभासमारोहमा समेत सयपत्री फूलको माला प्रयोगमा आएसँगै बाह्रै महिना फूलखेती गर्नेहरु पनि रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend