logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मंसिरभित्र बिजुली उत्पादन हुने

    मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मंसिरभित्र बिजुली उत्पादन हुने

    581
    Shares
    मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मंसिरभित्र बिजुली उत्पादन हुने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनबाट आउँदो मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ । केही दिनभित्र सुरुङमा पानी भरेर ढिलोमा मंसिर अन्तिमसम्म बिजुली उत्पादन गर्ने लक्ष्य रहेको मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए । आयोजनाको सबै काम सकिएको उनले जानकारी दिए ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम सकिएको छ । तीन वर्षअघि सिवाकोटी सिइओ बनेपछि आयोजनाले गति लिएको हो । त्यसअघि आयोजनामा समस्या आउनुका साथै धिमा गतिमा काम भएको थियो ।

    आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । सांसद बस्नेतले अवरोध गरेका कारण आयोजना अवरुद्ध भएको थियो ।

    बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ ।

    विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरुको वेट टेस्ट सुरु हुनेछ ।

    आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सोही विद्युत प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०÷१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

    मध्यभोटेकोसीको विद्युत प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको बिजुलीलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ ।

    सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी बैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरु सम्पन्न भएपछि सोहीमार्फत बिजुली प्रवाह हुनेछ ।

    जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायतका कारणले मध्यभोटेकोसीको निर्माण प्रभावित भएको थियो ।

    प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको थियो ।

    आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले सम्पन्न गरेको छ ।

    आयोजनाको हेड २ सय ३५ मिटर अग्लो छ । सुरुङको लम्बाइ सात किलोमिटर छ ।

    आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ रुपैयाँ रहेको छ । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

    कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावरको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ ।

    ४९ प्रतिशत साधारण शेयरधनी समुहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेका छन् । कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

    आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend