logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सद्भावको पर्व बन्दै छठ

    सद्भावको पर्व बन्दै छठ

    385
    Shares
    सद्भावको पर्व बन्दै छठ

    निरंजनकुमार साह/रासस

    महेन्द्रनगर (धनुषा) । छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो ।

    अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जिवित छ । मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन् । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

    कृषि प्रदर्शनीको पर्व

    छठले किसानको परिश्रमलाई सम्मान गर्छ । कृषिउपजलाई प्रसादका रूपमा प्रयोग गरिन्छ । झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ । छठ सुरु हुनु अघिदेखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी बताउँछन् ।

    गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्ने उनको भनाइ छ । छठ पर्वले कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका प्रमुख मथुरा यादवले बताए ।

    स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ । उखु, चामल, केरा जस्ता दर्जनौँ कृषिउपजको प्रयोग छठमा हुन्छ । छठमा सूर्यको पूजा हुन्छ । सूर्य शक्तिको प्रतीक हो । सारा संसार यसैको आधारमा चलिरहेको छ । कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित रहेकोे ज्योतिष पण्डित अमित झाले बताए । “छठ प्रकृतिको पूजा मात्र होइन शक्तिको उपासना पनि हो”, छठ पर्वका जानकार डा राजेन्द्र विमलले भने ।

    प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैँ प्रयोग गरिनेभन्दा फरक कृषि उत्पादन चढाउनुले पुष्टि हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्ण्ब बताउनुहुन्छ । उत्तराधिकारी महन्त रामरोशन दास बैषण्वका अनुसार छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन् ती हाम्रा खेतबारीकै उत्पादन हुन् । यस पर्वको खानपिन वातावरणमैत्री मानिन्छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ पर्व मनाइन्छ ।

    विभिन्न वस्तु प्रसादका रूपमा छठी मातालाई चढाइन्छ । यो पर्वले देखावटी परिपाटीलाई पूर्णरूपमा निषेध गरेको छ । किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गरिने जानकारहरु बताउँछन् । “कसको बारीमा के फलेको छ ? के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्”, किसान दीपेन्द्र साहले भने ।

    छठले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ । संस्कृति मानवीय जीवनपद्धति र मान्छेले धारण गर्ने वस्त्रसँग सम्बन्धित मानिन्छ । संस्कृतिविद् एवं जानकार राजर्षिजनक विश्वविद्यालाय जनकपुरधामका रजिस्ट्रार सत्यनारायण साहले संस्कृति मानव जीवन पद्धति भएको बताए । छठले यसलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ ।

    डा राजेन्द्र विमलका अनुसार कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गर्छ । “छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाइदिन्छ । मनमनमा भक्तिभाव जगाइदिन्छ । जनजनमा ऊर्जा भरिदिन्छ”, स्थानीय पण्डित डिगम्बर झाले भने, “सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसीलाई चट्टान झैँ बलियो बनाइदिन्छ । अनि सबै घर र बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन् ।”

    छठका उपासकहरु जलाशयमा उभिन्छन् । पूजा सामग्री हातमा राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् र भोलिपल्ट बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठीमाईको महिमा गाउँदै आराधना गरिन्छ ।

    सामाजिक एकता

    छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ । समुदायगत, जातिगत, भाषागत भिन्नता उस्तै छ । “तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन,” जानकार नित्यान्द मण्डलले भने । कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब मुस्लिमहरूले पनि मनाउन थालेका छन् ।

    छठले समाजको विविधतालाई एकताको मालामा उन्ने उनले बताए । छठघाटमा सबै जातजाति, धर्मावलम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छन् ।

    प्रकृतिको पूजा

    मधेस प्रदेशसभा सदस्य एवं गङ्गाआरती अभियन्ता रामअशिष यादवले भने, “चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो । छठ पर्व मान्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो ।” मिथिला र मधेशबाट विश्वभरि छठ फैलिएको छ । पुर्खाहरूले यसैकारण पनि छठ सुरु गरेको बताइन्छ । “चुरे दोहनले छठ पर्वको अस्तित्व सङ्कटमा पर्न थालेको छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ दिइन्छ । तर जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको छ”, उनले भने ।

    अहिंसाको पर्व

    छठमा प्रसादका रूपमा शाकाहारी चीज वस्तु प्रयोग गरिन्छ । यो पर्वले बलि प्रथालाई पूर्ण रूपमा वर्जित गरेको छ । स्वास्थ्यवर्धक खानपिनलाई मात्रै प्रोत्साहन गरिएको पण्डित रामचन्द्र झा बताउनुहुन्छ । छठको खानपिन वातावरणमैत्री छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ मनाइन्छ । छठको मुख्य प्रसाद ठेकुवा र केरा हो । ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ । चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तापक्रम प्रदान गर्छ । जसले चिसोसँग लड्ने शक्ति प्रदान गर्छ ।

    लोकतान्त्रिक पर्व

    लोकतन्त्रमा सबै बराबर हुन्छन् । यो भावलाई छठ पर्वले बोकेको छ । सूर्यको प्रकाशविना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन । सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ । त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ ।

    सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन । सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम राखिएको विश्वास यस पर्वले फैलाउने पण्डित तपु झा बताउँछन् ।

    छुवाछूतविरुद्धको पर्व

    हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ । कानुनी रूपमा वर्जित छुवाछूत समाजमा अझै कायम छ । तर, छठले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि भत्काएको प्राध्यापक श्यामसुन्दर शशिले बताए । उनका अनुसार यस पर्वमा कुनैपनि जातजातिको विभेद गरेको छैन । समाजलाई एकताको सूत्रमा बाँध्न छठको ठूलो योगदान रहेको उनको भनाइ छ ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व

    सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ । दैनिक घरमा पूजाआजा हुन्छ । हिन्दू परम्परामा पञ्चायन पूजा गरिन्छ । जहाँ गणेश, विष्णु, शिव, सूर्य र कालीको पूजा गरिन्छ । पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ । तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ ।

    संस्कृतिका जानकार डा विमलका अनुसार उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । हराउँदै गएको अस्तित्वलाई स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुआत हुन्छ भन्ने यसको मूल सन्देश हो ।

    नारी सशक्तीकरण पर्व

    छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो । सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता रहेकोे अधिवक्ता रेखा झा बताउँछिन् । सूर्यको उपासनामा कृपालु छठी माताको आशिषविना अनुष्ठान पूरा हुन सक्दैन भन्ने विश्वास छ । यो मातृशक्तिप्रतिको श्रद्धा हो । “छठ मात्र यस्तो अनुष्ठान हो,” उनले भनिन्, “जसमा छोरीको कामना गरिन्छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend