काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । आज भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भएको हो ।
नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए । तर, जितका लागि पर्याप्त हुन सकेन ।
नेपालका नारायण जोशीले १३ रन बनाउनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भए । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए ।
श्रीलंकाका लागि लहिरु समाराकून र थरिन्दु रथनायकेले दुई–दुई विकेट लिए । धनञ्जय लक्षण र लिहुरु मधुसंकाले एक–एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।
नेपालका प्रतिश जिसी र नारायण जोशीले एक–एक विकेट लिए ।
समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो । त्यस्तै नेपालले अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ । प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र यूएईमध्ये एक देशसँग आइतबार खेल्ने छ ।