logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • ‘अमेरिकाको निर्वाचन परिणामले कोप-२९ का नेगोसिएशन बैठकहरु प्रभावित हुनसक्छन्’ (अन्तर्वार्ता)

    ‘अमेरिकाको निर्वाचन परिणामले कोप-२९ का नेगोसिएशन बैठकहरु प्रभावित हुनसक्छन्’ (अन्तर्वार्ता)

    329
    Shares
    ‘अमेरिकाको निर्वाचन परिणामले कोप-२९ का नेगोसिएशन बैठकहरु प्रभावित हुनसक्छन्’ (अन्तर्वार्ता)

    जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप-२९ भोली सोमवारदेखि शुरु हुँदैछ । अजरबैजानको बाकुमा हुने सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली सहभागी हुँदैछ ।

    सम्मेलनमा नेपालले जलवायु वित्तको नयाँ लक्ष्य निर्धारणसँगै, अनुकुलन, न्युनिकरण र पर्वतीय क्षेत्रकोे समस्यालाई विशेष प्रथामकिताका साथ उठाउने भएको छ ।

    पेरिस सम्झौता पछिको सबैभन्दा महत्वपूर्ण सम्मेलनको रुपमा हेरिएको कोप-२९ को प्रमुख एजेण्डा भनेको जलवायुकार्यका लागि नयाँ लक्ष्य निर्धारण गर्नु हो । त्यसैगरी जलवायु वित्तको रकमलाई बढाउने सम्बन्धमामा पनि यो सम्मेलनले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

    विकासोन्मुख मुलुकहरुले परिवर्तित सन्दर्भमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको तथा अनुकुलन तथा न्युनिकरणका प्रयासमा खर्च गरिएको रकम अत्यन्तै न्युन भएकाले जलवायु वित्तको रकम बढाउनुपर्ने आवाज उठाउने भएका छन् । त्यसो त २ वर्ष अघिदेखि युएनएफसिसीले तयार गरेकोे जलवायु कार्यको नयाँ लक्ष्यको मस्यौदामा नै १ दशमलव ४ ट्रिलिएन अमेरिकी डलर प्रतिवर्ष पुराउनुपर्ने उल्लेख गरिएको छ ।

    तर अमेरिकाको निर्वाचन परिणाम पछि जलवायु वित्तको रकम बढाउनुपर्ने विषयमा सम्मेलन निर्णयमा पुग्न नसक्ने संसय बढाएको छ । एनसिक्युजीका यस अघिका उच्चस्तरीय बैठकमा जलवायु वित्तको प्रश्तावित रकममा सहमतिमा नपुगेका धनी देशलाई अमेरिकाको निर्वाचन परिणामले राहत दिएको विश्लेषण पनि हुन थालेको छ ।

    यसै सन्दर्भमा विश्व जलवायु सम्मेलनहरुमा नेपालको तर्फबाट नेगोसिएशन वार्तामा सहभागी हुँदै आएका जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गरिएको छ । उनी नेपालको पोजिसन पेपरको मस्यौदा निर्माण कमिटीका सदस्य पनि हुन् । हामीले डाक्टर उप्रेतिसँग यस बर्षको विश्व जलवायु सम्मेलन किन महत्वपूर्ण छ र अमेरिकी चुनावी परिणामले सम्मेलनको निर्णायक शक्तिमा कत्तिको प्रभाव राख्छ भन्ने सन्र्दभमा केन्द्रिय भएर कुराकानी गरेका छौ । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश ।

    कोप-२९ अरु सम्मेलन भन्दा किन महत्वपूर्ण छ ?

    जलवायु परिवर्तनको असर देखिने क्रम तिब्र हुँदै गएको र भिन्न स्वरुपमा देखिएका यसका असर र तिनले पार्ने प्रभावलाई सम्बोधन हुनेगरी जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्ने भएको यो सम्मेलन अरु भन्दा महत्वपूर्ण छ । सन् २००९ मा विश्वभरका नेताहरुले एकठाउँमा बसेर सन् २०२० देखि प्रतिवर्ष एक सय विलियन अमेरिकी डलर विकासोन्मुख देशहरुमा मोबिलाईज गर्ने भनी गरिेको निर्णय १४ वर्ष पुरानो भयो ।

    प्रतिवद्धताअनुसार वित्त लगानी पनि भएन । प्रतिवद्धता कार्यान्वयनमा धनी देशहरुको इमान्दारीता पनि देखिएन । त्यसैगरी ग्रिन क्लाईमेट फण्डमार्फत अल्पविकसित र विकासोन्मुख मुलुलमा वित्त परिचानको प्रक्रिया पनि अपm्ठ्यारो छ । समग्रमा जलवायुजन्य कार्यमा हाम्रो लगानी कम भयो तर जलवायु परिवर्तनका असरबाट निम्तने जोखिम बढ्ने दर बढी भयो । त्यसैले अब कम्तिमा पनि १ दशमलव ४ ट्रिलियन अमेरिकी डलर प्रतिवर्ष यो विकासोन्मुख देशहरुमा, स्मल आईल्याण्ड कन्ट्रीहरुमा(समुन्द्री टापु भएका देशहरु) मा जानुपर्छ भन्ने छलफललाई नयाँ दिशा प्रदान गर्नु आवश्यक छ ।

    त्यसैले जलवायु वित्तको नयाँ लक्ष्यमा सहमति हुनै पर्छ भन्ने आवाज शसक्त हुँदै आएको छ । जलवायु वित्तको रकम बढाउन सकेनौ भने हामीले बनाएका राष्ट्रिय अनुकुलन योजनाहरु कार्यान्वयन हुँदैन । त्यो कार्यान्वयन भएन भनेपछि पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री कायम राख्न सकिँदैन । त्यसैले जलवायु कार्यका लागि जलवायु वित्त भन्ने अवधारणा सहित जलवायु न्यायमा आधारित भएर जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्ने दृष्टिबाट यो सम्मेलन महत्वपूर्ण छ ।

    जलवायु वित्त नयाँ लक्ष्य निर्धारण बाहेक सम्मेलनका अन्य एजेण्डा के छन् ?

    जलवायु वित्तको नयाँ लक्ष्य निर्धारणसँगै, अनुकूलन, न्युनिकरण र पर्वतीय क्षेत्रको विषय पनि प्राथमिकताका विषय हुन् । जलवायुन्यायमा समानताको अवधारणा अनुसार महिला, बालबालिका, सीमान्तकृत वर्ग, अपांगता भएका वर्गलाई पनि सम्बोधन गर्नुपर्ने कुराहरु छन् । जलवायु परिवर्तनको असर त्यो क्षेत्रमा परिराखेको हुनाले त्यसलाई पनि एउटा इन्ट्रीगेटेड त्यसैगरी ग्लोवल स्टकटेकको अहिलेको अवस्था के हो ? प्रतिवद्धता अनुसार विश्वमा कुनकुन देशले कार्बन उत्सर्जन कम गरे वा गरेनन् ?

    प्रत्येक देशले आगामी सन् २०२५ को फेब्रुअरीमा नयाँ लक्ष्य निर्धारण गरेर (एनडिसी) बुझाउँदै छन् । एनडिसीमा स्वच्छ ऊर्जा,यातायात, शहरी क्षेत्रमा बन्ने घरहरुको संरचना, वनबाट कति कार्वन उत्सर्जन रोक्ने तथा पहिचान भएका केही नयाँ क्षेत्रहरु लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ । सोही लक्षयका आधारमा तापमान वृद्धिलाई १.५ मा रोक्न सकिने भएकाले पनि यसपटक एनडिसी ले छलफलको महत्वपुर्ण स्थान ओगट्ने छ ।

    त्यसैगरी हानी नोक्सानी कोष परिचालनको कार्यढाँचा तयारको विषय पनि छ । प्रविधि हस्तान्तरण जीविकोपार्जन, वन तथा कृषि लगायत विषयमाथि सम्मेलनमा छलफल हुनेछ । तर फाईनान्सको विषय यसपाली टुंग्याउने सहमती हुन्छ भने बाँकि विषय अर्को वर्ष ब्राजिलमा हुने सम्मेलनमा जान सक्ने सम्भावना पनि उत्तिकै छ ।

    नेपाल कोप-२९ मा कसरी प्रस्तुत हुँदैछ ?

    नेपालले विषयगत समितिहरु बनाएर मुख्य गरि ६ वटा एजेण्डाहरु तय गरेको छ । जलवायु अनुकुलन, न्युनिकरण, हानीनोक्शानी, समावेशिता, पर्वतीय क्षेत्रका मुद्दा लगायतमा नेपालले पोजिसन पेपर तयार गरेको छ । विश्व मञ्चमा बोल्ने विषय र अडानका सम्बन्धमा पोजिसन पेपरले हामीलाई निर्देशित गरेको छ ।

    त्यसबाहेक जी-सेभेन्टी सेभेन र चीनले उठाउने विषय पनि हाम्रो विषय पर्छ । समुन्द्री टापु देशहरुले उठाउने विषय पनि हामी संगं मिल्छन् । त्यसैगरी विकासोन्मुक मुलुकहरुका नेगोसिएटहरुबीच पनि सम्मेलन अगाडि पनि रणनीतिक छलफलहरु हुन्छन् ।

    ती छलफलहरुमा पनि नेपालको तर्फबाट सक्रिय सहभागिता हुने भएकाले समग्रतामा यस वर्ष नेपालको तयारी अन्य वर्षको भन्दा थप परिपक्व बनेको देखिन्छ ।

    आन्तरिक र वाह्यरुपमा नेपालको जलवायु रणनीति र लाभलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

    नेपालले अहिले राष्ट्रिय अनुकुलन योजना बनाएको छ । यसका लागि ४७.४ बिलियन अमेरिकी डलर लाग्छ भन्ने हाम्रो अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको पूर्वसूचना प्रणाली अनुसार सबैका लागि पूर्वसूचना प्रणाली पुर्याउने हो भने ६ सय मिलियन अमेरिकी डलर लाग्छ भन्ने अनुमान गरिएको छ ।

    हामी अहिले दोश्रो एनडिसीमा छौ । तेस्रो एनडीसीको मस्यौदा बनाउँदैछौँ । तेश्रो एनडीसी पूर्ण कार्यान्वयनका लागि कम्तिमा ३० देखि ४० विलियन अमेरिकी डलर आवश्यक पर्छ । विपद् जोखिम न्युनिकरणमा बनाएका रणनीति कार्यान्वयनका लागि नेपालको बजेटले पुग्दैन । नेपालको सन्दर्भमा जोखिम बढिराखेको, फाईनान्स नपुगेको अवस्थालाई हामी एनसीक्युजीको माध्यमबाट पनि सम्बोधन गरिनुपर्छ भनेका छौँ ।

    नयाँ लक्ष्यअनुसार प्राप्त पैसा जलवायु कार्यमा लगाउँछौँ । जलवायुजन्य असर कम गर्न प्रविधिमा लगाउँछौँ । यसले जलवायु परिवर्तनको असर कम गर्न सहयोग गर्छ त्यसैले हामीलाई वित्त चाहिन्छ भन्ने लवि वाह्यरुपमा भइरहेको छ । हानीनोक्शानी पनि जिएसटीसँग जोडिनु भन्ने पनि हो । नयाँ लक्ष्यसँग जिएसटीलाई नजोड्ने हो भो एनडिसीसँगको सम्बन्ध पनि जोडिदैन । एनडिसीको सम्बन्ध हानीनोक्सानीसँग भएन जलवायु लक्षय अधुरो हुन्छ । त्यसैले इन्टिग्रेटेड वेमा लैजानुपर्छ भनिएको छ ।

    अमेरिकाको निर्वाचन परिणामले कोपका नेगोसिएशनका बैठकहरु असफल हुने सम्भावना कति देख्नुहुन्छ ?

    यसपटक जलवायु वित्तको रकम बढाउनुपर्छ भन्ने सन्र्दभमा विकासोन्मुक मुलुकहरुको दबाब नेगोसिएशनमा आउछ । नयाँ लक्ष्य निर्धारण गर्दा १ दशमलव ४ ट्रिलियन नै हुन्छ भन्ने पनि सकिँदैन । धनी देशहरुले रकम घटाउने प्रश्ताव गर्न सक्छन् । दुवै पक्षका देशहरुको नेगोसिएशनपछि टुंगोमा पुग्ने हो । ग्लास्को सम्मेलनमा ‘कोईलाको फेट आउट कि डाउन’ भन्नेमा ३ दिन छलफल लम्बिएको थियो ।

    कार्बन उत्र्सनको कुरा गर्ने हो भने सन्दर्भ परिवर्तन भएको अवस्था छ । पहिलो युरोप बढी कार्बन उत्सर्जन गर्नेमा थियो भने अहिले विश्वको १ नम्बरमा चाईना देखिएको छ । यो परिवर्तित अवस्थाले पनि नेगोसिएशनमा प्रभाव परेको देखिन्छ ।

    कोइला, ग्यास र तेलको अत्याधिक प्रयोग गर्ने देशहरु नेगोसियसनमा कसरी प्रश्तुत हुन्छन् ? बिस्तारै जैविक ऊर्जाको प्रयोगलाई घटाउँदै लैजाने अर्थात कोइला, ग्यास र तेलको प्रयोगलाई घटाउँदै लैजाने भन्ने सन्दर्भमा कोप-२८ मा भएका निर्णयमा एक वर्षमा के प्रगति भयो र उनीहरुको प्रतिवद्धता कस्तो आउँछ भन्ने कुराले पनि नेगोशिएशनलाई असर गर्छ ।

    विकासोन्मुख देशहरुले खर्बाैं रकमको कुरा गरिरहेका बेला धनी देशहरु त्यो दिन तयार हुन्छन् कि हुँदैनन ? उनीहरु खरब दिन तयार देखिएका छैनन् । एनसीक्युजीकै सन्दर्भमा मात्रै पनि ४ वटा उच्चस्तरीय बैठकहरु भईसकेका छन् तर सहमती भएको छैन । त्यसैले पनि शंका गर्नुपर्ने अवस्था छ । तर अन्तिम अवस्थामा आएर निर्णय हुने गरेको इतिहास हेर्दा अहिले पनि सकारात्मक परिणामको अपेक्षा भने गरिएको छ । तर पेरिस सम्झौता पछिको सबैभन्दा महत्वपूर्ण यसपालीको कोप-२९ हो ।

    सम्मेलनले विश्वको जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्ने हुनाले त्यो लक्ष्यले नै विश्वलाई बचाउने या बढी जोखिममा हाल्ने भन्ने तय गर्ने भएकाले पेरिस जत्तिकै महत्वपूर्ण रुपमा यसलाई हेरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend