पर्सा । वीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ । महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
बुधबार बिहान १० बजेदेखि सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगन्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजारभन्दा बढी छात्राहरूको सहभागिता रहने उनले बताए । एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले बताए । यो तालिम सफल रूपमा सम्पन्न भए वीरगन्जको नाम अन्तर्राष्ट्रिय रूपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह गरे ।
वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल—भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर सहभागीहरूलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए । भारतबाट आएका प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन् ।
उनले अमिताव बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् ।