logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव : ‘एक भिजिट, एक नेशनल गोल’

    चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव : ‘एक भिजिट, एक नेशनल गोल’

    273
    Shares
    चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव : ‘एक भिजिट, एक नेशनल गोल’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर विज्ञहरुले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेण्डा) बनाउनुपर्ने बताएका छन् ।

    फ्रेण्ड्स अफ चाइनाद्वारा शनिबार काठमाडौंमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षिय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरुले एक भ्रमण, एक राष्ट्रिय एजेण्डा बनाउनुपर्ने बताएका हुन् । उनीहरुले नेपालले विगतका प्रधानमन्त्रीहरुको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेण्डाहरुमा अल्मलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए ।

    चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिए । चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए । त्रिभूवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए ।

    उनले नवप्रवर्तनकारी कामहरु गर्नका लागि चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्नसके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरु विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताए । उनले चीन विद्युतीय सवारीसाधन उत्पादन गर्ने पहिलो ठूलो देश भएकाले पनि नेपालमा त्यस किसिमका उद्योग सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।

    नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्धका साथसाथै सांस्कृतिक र नागरिकस्तरको सम्बन्धमा जोड दिन जरुरी रहेको बताए । प्रधानमन्त्रीको भ्रमणमा जनस्तरीय सम्पर्क बढाउने कुरा एजेण्डामा पर्नुपर्ने बताए ।

    उनले भने, ‘म प्रधानमन्त्रीको भ्रमणलाई जोडेर के भन्न चाहन्छु भने हामी आयात त ठूलो मात्रामा गरि नै रहेका छौँ । हाम्रो इकोनोमीको ठूलो हिस्सा इम्पोर्टमै जान्छ । तर चीनसँग हामीले कस्तो किसिमको आर्थिक रुपमा सहयोग लिन सकिएला ? सामान्य नागरिक भएको कारणले मलाई के लाग्छ भने के आग्रह गर्नसक्छौँ भने तपाईंहरुले नवप्रवर्तनमा काम गर्दै हुनुहुन्छ ।

    इ. भेइकलमा संसारको लार्जेस्ट प्रोड्युसर्स चाइना छ । इ।भेइकलको प्लान्टको एउटा सानो हिस्सा नेपालमा राखिदिनुस् भन्नुपर्छ । उहाँहरुकै प्रोडक्शन यहाँ हुन्छ र हाम्रो ठूलो जनसंख्या रोजगारीको लागि बाहिरिएका युवाहरुले रोजगारी यहाँ नै पाउँछन् । उहाँहरुको लागि लेभर कस्ट पनि सस्तो पर्छ । सरकारले यसमा होमवर्क गर्नुपर्ने देखिन्छ । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्ध एउटा आयाममा काम गरिरहेको छ ।

    सधैँ स्मुथ बनाउन सकेका छैनौँ । त्यो हुन नसक्नुमा कल्चरल कन्सेप्ट पनि कारण छ । सांस्कृतिक आदानप्रदानहरु कति आदानप्रदान भएको छ, त्यसले पनि फरक पार्दछ । कल्चरल इन्भेष्टमेण्टका लागि पनि कुरा अघि बढाउनु पर्छ । जनतास्तरीय सम्पर्क बढाउने कुरा एजेण्डामा राख्नुपर्छ ।’

    कार्यक्रममा बोल्दै अध्येता डा. विक्रम तिमल्सिनाले प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा सद्भाव र विश्वास लिएर जाने र फर्किने कुराले नै सम्बन्ध बलियो बनाउने बताए । उनले विश्वास र सद्भावबाट नै दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने तर्क गरे । उनले कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्नेकुरा चीनबाट सिक्नुपर्ने बताए ।

    सञ्चारमाध्यमहरुमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्रका आधारमा भ्रमण गर्नेकुरा सुखद् नरहने जिकिर गरे । उनले नेपाल कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था नभएकाले सरकारी निकायहरुलाई नै बलियो बनाएर जानुपर्ने बताए ।

    उनले प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा विश्वास गर्नेकुरा राम्रो नरहेको बताए ।

    उनले भने, ‘हाम्रो प्रधानमन्त्री के लिएर जाने र के लिएर फर्किने ? सद्भाव र विश्वास प्रधानमन्त्रीले लिएर जाने हो । सद्भाव र विश्वास नै बोकेर आउने हो । त्यो सधैँ रही रहने खालको सद्भाव र विश्वास आर्जन गर्न सकियो भने दुई देशबीचको सम्बन्ध पनि मजबुत हुन्छ र फाइदा पनि लिनसक्छौँ । कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्नेकुरा चीनबाट सिक्नुपर्छ । नेपाल र चीन सम्बन्धको विषयलाई हामीले प्रधानमन्त्रीको चीन भ्रमणसँग जोडिरहेका छौँ ।

    परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्र हामी बनाइएको छ रे । कोको भ्रमणमा जाने, कोको नजाने, केके एजेण्डा उठाउने र केके नउठाउने भन्नेबारे मैले त्यस्तो सुनिरहेको थिएँ । त्यो सुखद् पक्ष होइन । नेपाल भनेको कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था होइन । हामीसँग भएका निकायहरुलाई बलियो बनाउनु पर्छ । प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा हामीलाई विश्वास छ ।’

    कार्यक्रममा बोल्दै त्रिभूवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा एउटा नेशनल गोल लिनुपर्ने बताए । उनले चिनियाँ अनुभव र मोडलबाट सिकेर नेपाललाई शिक्षाको हब बनाउने पहल गर्नुपर्ने कुरा एउटा राष्ट्रिय एजेण्डा बन्नसक्ने प्रस्ताव राखे ।

    प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्ने बताए । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनेकुरा प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले अहिले चीन भ्रमण गर्दा एउटा नेशनल गोल चाहीँ लिनुपर्छ । चाइनिज अनुभव र मोडलबाट नेपालमा एजुकेशन हब बनाउने, एक भिजिटमा एउटै प्लान बनाउनु पर्छ । रिटेल बिजनेस गरेर काम छैन । होलसेल बिजनेस गर्नुपर्छ । त्यो बनाइसकेपछि त्यो वल्र्ड लेभलको, जसले गर्दा हाम्रो इकोनोमीलाई टेवा दिनसक्छ । त्यस्तो गृहकार्य गरेर प्रधानमन्त्री जानुपर्छ । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनुपर्छ ।’

    कार्यक्रममा बोल्दै वागमती प्रदेश, प्रदेश सभाका सभामुख भूवन पाठकले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालीहरुले आश बढ्नु स्वभाविक रहेको बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण मिनाह प्राथमिकतामा पर्नुपर्ने कुरा सञ्चारमाध्यमहरुमा आएपनि सो विषय प्राथमिकतामा पर्न नहुने धारणा राखे ।

    उनले भ्रमण गर्दा एजेण्डा र प्राथमिकतामा अलमल हुने गरेको भन्दै यस पटक त्यस्तो हुन नहुने बताए ।

    उनले भने, ‘प्रधानमन्त्री छिमेकी मुलुक चीन जाँदै गर्ने क्रममा स्वभाविक रुपले हाम्रो आशा हुनु स्वभाविक हो । अहिले बाहिर जुन मिडियामा आइरहेका कुराहरु छन्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लिएको ऋण मिनाहा गर्नुपर्छ भन्नेकुरा प्राथमिकतामा आउनुपर्छ, त्यो सरकारले प्राथमिकतामा राखेको छ भन्नेकुराको चर्चा पनि छ । तर यो प्राथमिकतामा पर्नु हुँदैन । हामी र हाम्रो डिप्लोमेसी र परराष्ट्र मन्त्रालय र हाम्रो के ल्याकिङ छ, अर्को प्रायोरिटीमा हामी कन्फ्युज छौँ ।

    हाम्रो प्रायोरिटी जहिले पनि कन्फ्युज हुन्छ । यो दुई कुरामा तालमेल मिल्नुपर्ने हो, त्यो मिलिरहेको छैन । हामी जुन किसिमको फोकस र होमवर्क हुनुपर्ने हो, त्यो भइरहेको छैन जस्तो देखिन्छ ।’

    सभामुख पाठकले आसन्न चीन भ्रमणका लागि पनि आवश्यक गृहकार्य हुन नसकेको अनुभुति आफूले गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend