logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कर बक्यौता वर्षेनी बढ्दो : २ खर्ब ५४ अर्ब उठाउन बाँकी, १ हजार ७५० करदाता पुनरावलोकनमा

    कर बक्यौता वर्षेनी बढ्दो : २ खर्ब ५४ अर्ब उठाउन बाँकी, १ हजार ७५० करदाता पुनरावलोकनमा

    294
    Shares
    कर बक्यौता वर्षेनी बढ्दो : २ खर्ब ५४ अर्ब उठाउन बाँकी, १ हजार ७५० करदाता पुनरावलोकनमा

    काठमाडौँ । लक्ष्यअनुरुप कर संकलन गर्न हम्मेहम्मे परिरहेको बेला आर्थिक वर्ष २०८०/८१ मा खर्ब ५४ अर्ब ३ करोड रुपैयाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार ३ लाख १९ हजार ३ सय ८१ करदाताको २ खर्ब ५० करोड रुपैयाँ भन्दा बढी बक्यौता देखिएको हो ।

    आर्थिक वर्ष २०८०/८१ को अन्तसम्ममा आईपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम १ खर्ब ३० अर्ब २४ करोड छ भने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ रहेको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    विभागका महानिर्देशक रामप्रसाद आचार्य न्यायिक निरुपणमा जाँदा मुद्दा फछ्र्यौटमा ढिलाई हुँदा बक्यौता पनि बढेको बताउँछन् । विभागले भने धमाधम पुनरावलोकनका मुद्दा फछ्र्यौटमा गर्दै आएको छ । “बक्यौता रकममध्ये ५५ देखि ६० प्रतिशत विभिन्न न्यायिक निकायमा विचाराधीन छन् । विभागमा प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण, विभिन्न अदालतमा मुद्दा छिनोफानो नहुँदा बक्यौता बढेको हो”, उनले भने ।

    चालु मुद्दा फछ्र्यौट भएका जानकारी दिँदै महानिर्देशक आचार्यले भने, “प्रशासकीय पुनरावलोकनमा गएका मुद्दा यथाशक्य चाँडो फछ्र्यौैट गरेका छौँ । धेरैभन्दा धेरै जनशक्ति परिचालन गरेर काम भएको छ । “ हामीले निर्धारण गरेको करउपर चित्त नबुझेमा न्यायिक निकायमा जान पाउने करदाताको अधिकार हो । तर, त्यस्ता मुद्दा फछ्र्यौट चाँडो हुँदा त्यसले बक्यौता असुली गर्न पनि सहज हुन्छ ।

    कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी छन् । प्रतिवेदनअनुसार १ लाख ९६ हजार ४ सय ६३ करदाताबाट १ खर्ब ८६ अर्ब ७८ करोड रुपैयाँ आयकर उठ्न बाँकी छ । आयकर तर्फ ७ सय १८ करदाता प्रशासकीय पुनरावलोकनमा जाँदा १ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ आयकरबाट राज्य वञ्चित भएको छ ।

    मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ एक लाख २० हजार आठ सय ३२ करदाताबाट ५९ अर्ब ९० करोड रुपैयाँ असुली हुन बाँकी छ । अन्तःशुल्क तीन सय ७४ करदाताबाट ४ अर्ब ३१ करोड रुपैयाँ उठाउन बाँकी छ । अन्य एक हजार सात सय १२ करदाताले ३ अर्ब चार करोड रुपैयाँ राज्य कोषमा दाखिला गरेका छैनन् ।

    बक्यौता कर संकलन यसरी अवरोध हुँदा सरकारको राजस्व संकलन लक्ष्य प्रभावित भएको छ । आर्थिक वर्ष २०८०/८१देखि चालु आर्थिक वर्ष का लागि एक हजार सात सय ४२ वटा प्रशासनिक पुनरावलोकनका निम्ति दर्ता हुँदा राज्य कोषमा रकम अपर्याप्तताको चाप बढेको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ७७ अर्ब ७३ करोड कर असुली गर्ने लक्ष्य निर्धारण भएकामा ५ खर्ब ३३ अर्ब तीन करोड रुपैयाँ मात्र उठेको थियो ।

    आव २०७९/८० देखि जिम्मेवारी सरेका र आव २०८०/८१ मा दर्ता भएका जम्मा दुई हजार दुई सय ४४ निवेदनमध्ये गत आवमा जम्मा पाँच सय दुई वटा फछ्र्यौट भएका छन् । एक हजार सात सय ४२ निवेदन आव २०८१/८२ को लागि सारिएका छन् ।

    गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको २३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी बेरुजु थपिएको छ । उक्त आवको प्रारम्भमा कुल बेरुजु रकम ७६ अर्ब एक करोड ४२ लाख रुपैयाँ रहेकामा आर्थिक वर्षको अन्त्यमा त्यो बढेर ९९ अर्ब ५७ करोड ७८ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend