काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सहायक कम्पनीमार्फत बनाउन लागेको १ सय ३५ मेगावाटको मनाङ-मर्स्याङ्दी क्यास्केड जलविद्युत आयोजनालाई लगानी जुटेको छ । चीनको निर्यात–आयात (एक्जिम) बैंकले ऋण लगानी गर्ने भएको छ ।
एक्जिम बैंक, बिपिसी र चिनियाँ कम्पनीबीच ऋण लगानी सम्झौता भएको छ । आयोजना मनाङ–मर्स्याङ्दी हाइड्रोपावरले निर्माण गर्न लागेको छ । कम्पनीले साधारण सेयर (आइपिओ) पनि जारी गर्नेछ ।
यसअघि नै एक्जिम बैंकले आयोजनामा ऋण लगानी गर्ने सैद्धान्तिक सहमति जनाएको थियो । आयोजना बनाउन कूल ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड डलर) लागत अनुमान गरिएको छ । २७ अर्ब रुपैयाँ बढी लगानी चीनबाट आउने बताइएको छ ।
कुल ऋण लगानीको ६८ प्रतिशत एक्जिम बैंक र बाँकी निर्माण कम्पनीले व्यवस्थापन गर्ने भएको छ । ऋण लगानी व्यवस्थापन चिनियाँ लगानीकर्ताले गरेका छन् ।
२०७९ पुस ३ मा जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालय र निर्माण कम्पनीबीच आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भइसकेको छ । यस्तै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । सुक्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बखायामको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ।
वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ । यसअघि आयोजना २०२३ देखि निर्माण सुरु भई ४० महिनामा सक्ने लक्ष्य तय भएकोमा भर्खरै वित्तीय व्यवस्थापन हुन लागेकाले पछि धकेलिएको छ । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न बिपिसीले प्रिमियम मूल्यमा १ करोड कित्ता थप (एफपिओ) निष्कासन गर्ने भएको छ ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा बन्नेछ । प्रस्तावित आयोजनाबाट ७६ करोड ६५ लाख ९३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनामा चिनियाँ कम्पनीको ८० र बाँकी २० प्रतिशत बिपिसीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । उक्त कम्पनीको सेयरमा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एससीआइजी इन्टरनेशनल लिमिटेडको नाममा ४९.४७ प्रतिशत, छिङजोङ इन्टरनेशनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेको १६.४९ प्रतिशत र क्यूआइईसी इन्टरनेशनल कम्पनी लिमिटेडका नाममा ११.६४ प्रतिशत सेयर रहनेछ ।
जलविद्युतमा लगानी गर्न बिपिसी र ३ वटा चिनियाँ कम्पनीले एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन् । बिपिसीका अतिरिक्त एससीआइजी इन्टरनेसनल, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहनेछ । आयोजनाको हेड ४ सय ३० मिटर र सुरुङको लम्बाइ ६ किलोमिटर रहनेछ ।
चिनियाँ कम्पनीको साझेदारीमा बिपिसीले मस्र्याङ्दी बेसिनमै ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ र १ सय ३९ मेगावाटको तल्लो मनाङ–मर्स्याङ्दी आयोजना निर्माणको तयारी गरेको छ ।
तीन आयोजनाको क्षमता ६ सय १ मेगावाट छ । तीनवटै आयोजना शृंखला (क्यासकेड) खाकामा निर्माण हुने भएको छ ।
आयोजना मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ। आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानीस्थित प्राधिकरणको २ सय २० केभी धारापानी सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन २०१८ मा लगानी चिनियाँसँग सम्झौता गरेको हो ।
होल्डिङ कम्पनीमार्फत आउँदो केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । बिपिसीले ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिसकेको छ । बिपिसीले साढे ३७ मेगावाटको काबेली–ए आयोजना निर्माण गरिरहेको छ ।
१ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
यो पनि :
१३५ मेगावाटको मनाङ–मर्स्याङ्दीलाई जुट्यो लगानी, चाइना एक्जिम बैंकको २७ अर्ब ऋण