लुम्बीनी । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन् ।
बिहीबार लुम्बीनीमा भएको लुम्बीनीमा ‘लगानीः अवसर र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताए ।
उनले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरुको पनि साथ र सहयोग आवश्यक रहेको बताए । महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताए । उनले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा जाने वातावरण बन्ने बताए ।
उनले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न नसकिने बताए । उनले हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताए । उनले नेपाल र हिमालय एयरलाइन्सलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनु जरुरी रहेको बताए ।
उनले सरकारले हवाई उडानलाई नियमन गर्दा तीन वटै विमानस्थल चल्न सक्ने बताए । उनले अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको दाबी गरे ।
उनले राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरु भैरहवा विमानस्थलबाट उडान गरेको बताए । उनले नेपालमा विमानस्थल बढ्दो क्रममा रहे पनि विमानको संख्या घट्दो अवस्थामा रहेकाले पनि समस्या देखिएको बताए ।
उनले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था नभएको बताए ।