logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • ‘भ्याटमा विसङ्गति ल्याउने ‘थ्रेसहोल्ड’ हटाउनुपर्छ, करका दरमा पुनरावलोकन गर्ने बेला भयो’

    ‘भ्याटमा विसङ्गति ल्याउने ‘थ्रेसहोल्ड’ हटाउनुपर्छ, करका दरमा पुनरावलोकन गर्ने बेला भयो’

    210
    Shares
    ‘भ्याटमा विसङ्गति ल्याउने ‘थ्रेसहोल्ड’ हटाउनुपर्छ,   करका दरमा पुनरावलोकन गर्ने बेला भयो’

    मुलुकको कर प्रणालीमा समस्या देखिएको छ, तर यो दोस्रो कुरा हो । नेपालको कर प्रणालीलाई सिधै हेर्दा तीन वटा ठाउँमा सुधार गर्नुपर्ने देखिन्छ । एउटा भनेको करको दरमा पुनरावलोकन हो । समयअनुसार करका दरमा पुनरावलोकन गर्ने समय भइसकेको छ ।

    कर तिर्ने कुरा करको दरसँग सम्बन्धित हुन्छ । करका दर उच्च भयो भने धेरै तिर्न पर्छ, दर कम भयो भने थोरै तिरे हुने भयो । यो करदाताको आर्थिक कुरासँग जोडिएको हुन्छ । आफ्नो बढ्ने बचतसँग जोडिएको हुन्छ । त्यसैले त्यहाँ मान्छेले ख्याल गरेको हुन्छ ।

    करको दर उच्च भयो भने मान्छे कर छल्नेतर्फ जान्छ । करको दर उच्च भएका बेला कर छल्यो भने त्यसबाट प्राप्त गर्ने वित्तीय लाभ र कर छलेवापत हुने सम्भावित जरिवाना कम हुन्छ ।

    दोस्रो भनेको, अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेर्ने हो भने करको दरमा परिवर्तन गर्नुपर्ने भएको छ । अहिले नेपालमा व्यक्तिलाई लाग्ने आयकरमा न्युनतम छुट दिनुको पनि कुनै तर्क छैन । अहिले व्यक्तिलाई पाँच लाख र दम्पत्तिलाई ६ लाख रुपैयाँसम्म कर छुट छ । अहिले व्यक्तिगत आयकर पनि ३९ प्रतिशत भइसकेको छ ।

    सामाजिक सुरक्षा कर भनेर १ प्रतिशत लिइएको छ, त्यो अब बन्द गरिदिनु पर्छ । जुनबेला सामाजिक सुरक्षा कर भनेर सुरु गरिएको थियो, सामाजिक सुरक्षा कोषमा लैजान त्यो पैसा उठाइएको हो, अहिले यसलाई कर नै बनाइयो ।

    परिवर्तन गर्नुपर्ने करको दरमा मूल्य अभिवृद्धि कर (भ्याट) पनि हो । यसमा पर्ने दुईवटा दर अहिले अत्यधिक आवश्यक छ । विश्वका २८ भन्दा बढी देशले दुई वटा कर चलाउँछन् । यो किन आवश्यक छ भने बच्चाले लगाउने एउटा भोटोमा पनि १३ प्रतिशत भ्याट, पाँच करोडको गाडी किन्नेलाई पनि १३ प्रतिशत भ्याट जुन सामाजिक न्यायको दृष्टिकोणले यो न्यायसँगत भएन ।

    अर्को कुरा भनेको हाम्रो वर्गीय चरित्रलाई मिनिमाइज गरेर डिस्प्यारिटी कम गर्ने हो भने विलासिता जस्ता अनुत्पादक (अनप्रोडक्टिभ) वस्तुहरुमा बढी कर लगाउने अर्थात् अध्ययन गरेर अहिलेको १३ प्रतिशतलाई १७/१८ प्रतिशत बनाउन सकिन्छ । त्यस्तै तल्लो दरलाई कम गरेर कति उपयुक्त हुन्छ त्यतिमा राख्ने ।

    दुईवटा दर गरेर माथिल्लो दर अझै माथि लगिदियो भने राजस्वमा कमी हुँदैन । भ्याटमा अहिले एउटै दर छ र त्यसमा थ्रेस होल्ड छ । त्यो थ्रेस होल्ड हटाउनु पर्छ । थ्रेस होल्डले विकृति सिर्जना गरिदिएको छ । एउटै टेबुलको घर्राबाट अहिले पनि चार किसिमको बिल निस्किन्छन् ।

    आउने स्रोत पनि अहिले फरक फरक हुन गएको छ । भन्सार पनि तीन/चार किसिमले आउँछ । भन्सारको दरलाई पनि पुनरावलोकन गर्नुपर्ने हुन्छ ।

    भन्सार नियमनलाई अझै प्रभावकारी बनाउनुपर्छ । करमा किन पनि सुधार आवश्यक छ भने अहिले तीन तहका सरकारले कर लगाउँछन् । जसले गर्दा करको संख्या धेरै भयो भन्ने मानसिकता छ । अर्को भनेको एउटा कर र अर्को करबीचको अन्तर सम्बन्ध अध्ययन गरिएको छैन ।

    व्यवसाय कर भनेर स्थानीय तहले लगाउँछ अनि आयकर भनेर केन्द्रले लिन्छ । त्यो आम्दानीको आधारमा हो कि पुँजी लगानीको आधारमा हो ? कारोबारको आधारमा लिने हो कि, लोकेशनको आधारमा लिने हो ? त्यसको असर के हुन्छ, त्यो बुझ्नु आवश्यक छ । तीन तहका सरकारका बीचमा करको हार्मोनाइजेशनमा छाता गाइड लाईन आवश्यक छ । यसरी सामान्य कुराहरुमा सुधार गर्न सकिन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend