काठमाडौँ। प्रभु बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ । लाभांश सुरक्षित गर्ने आज (पुस ९ गते बिहीबार ) अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक क्लोज गर्दैछ ।
सोही अनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैंया पुग्नेछ । प्रभुको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा रहेको छ ।