कोभिड – १९ अर्थात् कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा अझै उस्तै छ । यो महामारीका कारण मुलुकमा लकडाउन सुरु भएको नौ महिनादेखि नाइट क्लब, बार र पबहरु समेत बन्द हुन पुग्यो । लामो समय देखि डीजे पेशामा रमाईरहेकी काठमाडौं चाबहिलकी सुस्मिता महर्जन ‘डिजे नानी’लाई आफूले दैनिक गरिरहेको कामबाट एक्कासी अलगिनु पर्दा सुरुवाती दिनहरुमा निकै गाह्रो भयो ।
उनी भन्छिन, ‘हरेक साझ घरबाट निस्केर क्लबमा दर्शक लाई नचाउने बानी परिसकेको थियो तर एकाएक घरमै खुम्चेर बस्नु पर्दा सुरुमा त एकदम न्यास्रो लाग्यो । तर अहिले बिस्तारै सबै सहज हुँदै गएको छ । यस बीचमा आफ्नो परिवार साथी–भाईसग समय बिताउने मौका पाएकोमा भने उनी दङ्ग छिन् । सानैदेखी गीत–संगीत प्रतिको गहिरो मोहका कारण नै आफू डिजे बनेको बताउने उनले सुरुका दिनहरुमा परिवार बाट साथ नपाउँदा परिवारलाई मनाउन एक खालको युद्ध नै लड्नु परेको थियो । तर बिस्तारै उनले एही पेशामा उचाई लिदै गइन र परिवारको साथ सहयोग मिल्दै गयो ।
८–९ कक्षा पढ्दासम्म उनलाई डिजे पेशा अनौठो लाग्थ्यो । पत्रपत्रिकाहरुबाट डिजेहरुका बारेमा जानकारी पाइन् । काठमाडौंको रैथाने उनीमा सानैदेखि गीत संगीतले गहिरो छाप पारेको थियो । मन मस्तिष्कमा पुर्ण रुपमा गीत संगीतले डेरा जमाएको थियो । यतिकैमा एसएलसीको पढाई पूरा गरिन् । एसएलसीपछि धेरैको जीवनले ‘टर्निङ पोइन्ट’ लिन्छ, सुस्मिताको जीवनमा पनि त्यस्तै भयो । उनले आफ्नोे पढाइसँगै डिजे बन्नका लागि आवश्यक ज्ञान, सीप बटुल्न थालिन् ।
अहिले उनी एक सफल डिजेको रुपमा आफ्नो नाम राख्न सफल भएकी छिन् । डिजेको छबि बनाउन सुरुमा धेरै सघंर्ष गर्नुपरेको उनी बताउँछिन् । भन्छिन्, ‘गहिरो मिहेनत र लगावका साथ काम गरेर नै आज यो स्थान बनाउन सफल छु ।’ पाच वर्षको अथक मिहेनतले उनलाई यो उचाइमा पु¥याएको हो । सुस्मिताको कर्मलाई एउटा भिन्न खालको क्रान्ति नै भन्न सकिन्छ । मनोरन्जनका लागि नाइट क्बल, बार र पबमा पुग्ने महिलालाई नै नकारात्मक दृष्टिले हेर्ने समाजमा सुस्मिताले भने ‘फिमेल डिजे’ अर्थात् महिला ‘डिस्को जक्की’ को परिचय बनाएकी छन् । उनी अहिले राजधानीको चर्चित फिमेल डिजेमध्य एक हुन् ।
‘सुरुमा घर, परिवारबाट यो काम नगर भनेर धेरै दबाव आयो,’ उनले भनिन्, ‘तर संगीत क्षेत्रमै भविष्य बनाउने मेरो सोचको अगाडि परिवार बिस्तारै गल्यो, अहिले राम्रो साथ पाएकी छु ।’ नेपालमा अझै पनि महिला डिजेलाई विश्वास र भरोसा गर्न मानिसहरुले गाह्रो मान्ने गरेको उनको अनुभव छ । चरित्रको कुरा उठाउँदै शंका गर्ने व्यक्तिहरु समाजमा अझै रहेको बताउँदै उनी भन्छिन्, ‘समाजमा नराम्रो धारणा भएका मात्र मान्छे छैनन, राम्राहरु पनि छन् । राम्राहरुको सहयोग र सद्भावमा आफूलाई अगाडि बढाउनु पर्छ ।’
उनको डिजे यात्रा मोफसलका धेरै शहरहरुसम्म पुगिसकेको छ । उनले मोफलसमा आयोजित धेरै कार्यक्रममा प्रस्तुती दिइसकेकी छन् । नेपाली, हिन्दी र अंग्रेजी गीतलाई मिसमास पारेर दर्शक उफार्न सक्ने महर्जन यसबाहेक अरु कुनै सपना देख्दिनन् । डिजेइङलाई एउटा आर्टको रुपमा अथ्र्याउँने उनी बदलिँदो परिवेशका कारण यसमा सम्भावना पनि उत्तिकै देख्छिन् ।
नेपालबाहेक दक्षिण कोरिया, दुवई जस्ता मुलुकमा रहेका नेपालीमाझ पनि उनले डिजे बनेर प्रस्तुति दिइसकेकी छिन् । उनी आफ्ना कारण कतिपय महिलामा आत्म विश्वाश जागेको बताउँछिन् । डिजे भनेको केटा मात्र हुन्छन भने गलत धारणालाई परिवर्तन गर्न आफू केहि हद सम्म सफल पनि भएको उनको तर्क छ ।
डिजे जुसिएमलाई प्रेरणाको स्रोत मान्ने उनी दर्शक, स्रोतालाई आफूले बजाएको गीतमा झुमाएर नाच्ने बनाउँदा साह्रै आनन्द लाग्ने बताउँछिन् । संघर्षको सुरुवाती दिनमा पारिश्रमिक चित्तबुझ्दो नपाएको विगत कोट्याउँदै उनी भन्छिन्, ‘अहिले त यसैबाट राम्रो पारिश्रमिक पाइरहेको छु ।’
हेर्नुस् सुस्मिता महर्जन ‘डिजे नानी’ सँग सुनौलो नेपालले गरेको कुराकानी: