काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरेका हुन् ।
उनले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताए । उनले फ्रि भिसा र फ्रि टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्रि टिकट र फ्रि भिसाअन्तर्गत श्रमीक पठाउन सकिने बताए । उनले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए ।
उनले भने, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ, फ्रि भिसा, फ्रि टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिले कहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्था भन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्युलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजन भन्दा पनि रियल डिसिजन राम्रो हुन्छ, त्यसबाट रिजल्ट आउने हिसावको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ, पोलिसीको हिसावले ।
यो किन भनेको हो भने फ्रि टिकट, फ्रि भिसा भनेको छ । त्यो फ्रि टिकट, फ्रि भिसा त हामी नेपालीको मात्रै त होइन नि । बंगलादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रिमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ।’
अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरुले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए ।