काठमाडौं । पर्यटकीय नगरी पोखरामा कैलाश ग्रुपको लगानीमा निर्माणधिन ले ग्ल्यामर लक्जरी रिसोर्ट र वेलनेस स्पा प्राइभेट लिमिटेडको काम अन्तिम चरणमा पुगेको छ । रिसोर्ट डिसेम्बर अन्तिममा सञ्चालनमा ल्याउने तयारी भएको छ ।
रिसोर्ट पाँचतारे होटल स्तरको हुनेछ । ले ग्ल्यामर रिसोर्ट बनाउन २ अर्ब १७ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । यसअघि १ अर्ब ५५ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । भवनका साथै केही संरचनाको डिजाइनका साथै स्कोप परिवर्तन गरेका कारण लागत बढेको रिसोर्टले जनाएको छ । १ अर्ब ३ करोड रुपैयाँ ऋण खर्च भइसकेको छ ।
बाँकी लगानी स्वपुँजी (इक्विटी) बाट जुटाइने भएको छ । रिसोर्टले १ अर्ब ३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
अहिलेसम्म ७३ प्रतिशत वित्तीय र ८५ प्रतिशत भौतिक प्रगति भएको छ । आउँदो डिसेम्बर २३ मा सञ्चालनमा ल्याउन रिसोर्टले बुकिङ खुलाएको छ ।
रिसोर्टमा महंगा पर्यटकलाई लक्षित गरी २८ वटा स्वीट रुम र ३ वटा भिल्ला हुने भएको छ । जसमा सबै आधुनिक सुविधाहरू समावेश हुने छन् । पौडी पोखरी, जाकुजी, पुस्तकालय, ध्यान हल, बच्चाहरुको प्ले स्टेशन, सम्मेलन, बैंक्वेट हल र स्पालगायत अन्य पाँचतारे स्तरको सुविधाहरु हुनेछ ।
कैलाश ग्रुप टुर एण्ड ट्राभल एजेन्सी, हेली सेवा र बुटिक होटल व्यवसायमा संलग्न छ । ले ग्ल्यामर रिसोर्टको व्यवस्थापन तासी गुरुङले गर्ने भएका छन् । उनी कैलाश ग्रुपको संस्थापक अध्यक्ष पनि हुन् । उनी ले ग्ल्यामरको प्रवन्ध सञ्चालन छन् ।
ले ग्ल्यामर रिसोर्ट सन् २००९ मा स्थापना भएको हो । महंगा पर्यटकलाई लक्षित गरी खोलिन लागेको ले ग्यालमर रिसोर्ट १ लाख ३१ हजार ३ सय ५१ वर्गमिटरमा फैलिएको छ ।
रिसोर्ट सराङकोट, पोखराको मेथलाङ पहाडमा छ । लक्जरी रिसोर्ट पोखरा विमानस्थलबाट ८ किलोमिटर दुरीमा छ । पछिल्लो समयमा राजधानीलगायत अन्य पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल खुल्ने क्रम बढेको छ । संख्या बढेसँगै प्रतिस्पर्धा पनि बढेको छ । विशेष गरी पोखरामा अझै धेरै प्रतिस्पर्धा रहेको छ ।