काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले आज जित निकालेको छ ।
पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए ।माइकल लेभिटले ३२ रन बनाए । भीम सार्की २२, कप्तान करण केसी १, गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।
यसअघि निर्धारित २० ओभरमा पोखराले ८ विकेट गुमाउँदै १ सय ३८ रन बनायो । पोखराले टस हारेर पहिला ब्याटिङ गरेको हो ।
पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै दिनेश खरेलले ३८ रन बनाए । सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे ।
दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७ रन मात्र बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन र तीन विकेट लिए । यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे ।