काठमाडौं । व्यवसायिक घरना गोल्यान ग्रुप आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा आक्रमक भएर लगानी बढाएको छ । राजधानीको सोल्टिमोडमा पाँचतारे स्तरको सिटी होटल लिमिटेड सञ्चालनमा ल्याएको ग्रुपले ४ अर्ब रुपैयाँ लगानीमा बुद्धको जन्मस्थल लुम्बिनीमा होटल वेद सञ्चालनमा ल्याउने भएको हो । होटल पूर्वाधार लुम्बिनीको मायादेवी गाँउपालिकामा बन्ने भएको छ ।
होटलमा २ अर्ब ८० करोड रुपैयाँ बैंकको ऋण र बाँकी १ अर्ब २० करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । कूल स्वपुँजीको ३० प्रतिशत अर्थात ३६ करोड २० लाख रुपैयाँ लगानी भइसकेको छ । ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजीबाट जुटाउने गरि लगानी संरचना तयार पारिएको छ ।
होटलका लागि आवश्यक जग्गा खरिद सकिएको छ । सिभिल, आर्किटेक्चर र ल्यान्ड स्कोपिङका लागि परामर्शदाता नियुक्त भइसकेको वेद हस्पिटालिटीले जनाएको छ । होटलको वातावरणीय प्रभाव मूल्याँकन (इआइ) को प्रतिक्षामा छ । होटल सन् २०२८ को जनवरीदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी भएको वेद हस्पिटालिटीले जनाएको छ ।
होटलको व्यवस्थापन ह्यात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड (एचएमए) ले हेर्ने भएको छ । ग्रुप र ह्यातबीच होटल व्यवस्थापनको सम्झौता भएको छ । वेद होटल ह्यात रिजेन्सी ब्राण्डमा सञ्चालन हुने भएको छ । एचएमएको माउ कम्पनी ह्यात होटल्स कर्पोरेशन हो ।
प्रस्तावित होटलमा १ सय ७७ कोठा हुने भएको छ । पछि विस्तार गरेर २ सय कोठा बनाइने वेद हस्पिटालिटीले जनाएको छ । होटलमा स्मिङपुल, कन्फरेन्स हल, ब्याँकेट,स्पा, फूड एन्ड बेभरेजलगायत सबै किसिमा अत्याधुनिक सेवाहरु हुने भएको छ । पहिलो चरणमा २ सय अत्याधुनिक कोठाहरुका साथै रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो सञ्चालनमा ल्याउने योजना ग्रुप छ । त्यसपछि थप पूर्वाधार तयार पारेर अन्य सुविधा थप्ने ग्रुपले जनाएको छ ।
होटल भैरहवा विमानस्थलबाट ८ किलोमिटर दुरीमा छ। होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर दुरीमा छ। बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै धार्मिक रुपमा परिचित छ । उत्तर प्रदेश र बिहारका छिमेकी भारतीय राज्यहरूमा कडा नियमहरू लगाएका छन् । भारतीय सीमाना नजिकको गन्तव्य भएकाले होटल नेपालका लागि कर्पोरेट बैठक र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बनेको छ ।
गोल्यान होटल लिमिटेडले वेद हस्पिटालिटीको स्थापना सन् २०२२ को डिसेम्बर २९ मा गरेको हो । होटल २ लाख ९१ हजार ७ सय ९१ स्क्वायर फिट क्षेत्रमा फैलिने छ ।
ग्रुपले सन २०२१ नोभेम्बरदेखि राजधानीमा पाँचतारे स्तरको ह्यात पेलेस होटल सञ्चालनमा ल्याइसकेको छ । होटलमा १ सय ५३ कोठाहरु रहेका छन् । वेद गोल्यान ग्रुपको दोस्रो पाँचतारे होटल हो । भैैरहवा क्यासिनोको लागि रुचाइएको स्थान हो । वेदलाई उच्चस्तरीय मनोरञ्जन र विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) पाँचतारे होटलको रूपमा प्रवद्र्धन गर्ने योजना वेद हस्पिटालिटी प्रालिको छ । होटलले २ अर्ब ९२ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
गोल्यान ग्रुपको होटलका साथै जलविद्युत, व्यापार, बैंकिङ, रियलस्टेट, बिमा र टेक्सटाइल क्षेत्रमा ठूलो लगानी छ । होटल ग्रुपका निर्देशक सुरभी गोल्यानले हेर्ने भएका छन् । ग्रुपका अध्यक्ष पवन गोल्यान हुन् ।
सिटी होटल पनि ह्यातले व्यवस्थापन हेर्र्दै आएको छ । ह्यातको २० वटा प्रिमियर ब्राण्डका साथै ७६ मुलुकहरुमा १ हजार ३ सय होटल रहेका छन् ।
राजधानीमा सञ्चालनमा रहेको ह्यात पेलेस साढे १० रोपनी क्षेत्रफलमा डेढ वर्षअघि सञ्चालनमा आएको ह्यात प्लेस होटल ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको थियो। १४ तलाको होटलमा १ सय ५३ कोठा छन्। लक्जरी तथा बिजनेसमा वर्गीकरण गरी सबैलाई मिल्ने गरी कोठाको इन्टेरियर डिजाइन गरिएको छ ।