मनहरी (मकवानपुर) । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपालीकोे धार्मिक सहिष्णुता विश्वमा उदाहरणका रूपमा रहेको बताएका छन् ।
उनले आज जारी गरेको सन्देशमा भनिएको छ, “हामी एकअर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ । चाडपर्वहरूले नेपाली समाजलाई एकतामा बाँधेका छन् । ”
यसैबीच, सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पनि यसै अवसरमा जारी गरेको शुभकामना सन्देशमा चाडपर्वहरूका माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ ।
‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीहरूमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।