पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँले महँगोमा ऋण दियो भनेर भू–राजनीतिक कुरा गर्नुको कुनै तुक नभएको बताएका छन् ।
नेपाली र पोखरेलीहरु त्यस्ता हल्लामा बहकिन नहुने स्पष्ट पार्दै उनले यस्ता ठूला ठूला निर्माणहरु राज्यले निर्माण गर्ने भन्दै राज्यले नै उक्त ऋण तिर्ने बताए । उनले भने, ‘यस्ता ठूला ठूला स्टक्चरहरु त राज्यले बनाउने हो नि ! त्यो पोखरा विमानस्थलले तिर्नुपर्ने हो र ? त्यो क्यानले मात्र तिर्नुपर्ने हो ? त्यो ऋण पोखरेलीले तिर्नुपर्ने हो र ? त्यो त नेपाल सरकारले बनाएको नेपाल सरकारले तिर्छ यस्तो सबै ऋणहरु । फेरि हामी घाटा र नाफाको कुरा गर्छौँ ।’ दुनियाँमा धेरै एयरपोर्टहरु घाटामा हुने स्मरण गर्दै मन्त्री गुरुङले चीनमा रहेका १० प्रतिशत एयरपोर्ट मात्र नाफामा रहेको बताए । एयरपोर्टले नाफा कमाउने नभई एयरपोर्टको कारणले चल्ने आर्थिक गतिविधिले मुलुकलाई समृद्धिका दिशामा लैजाने बताए ।
सुनौलो नेपालले पोखरामा आयोजना गरेको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका मन्त्री गुरुङले भने, ‘म छक्क छु, जुन एयरलाईन्सले पोखरामा एयरपोर्ट नै चल्दैन भन्थ्यो त्यहि एयरलाईन्सले आज सबैभन्दा धेरै उडान गरिरहेको छ । बुझ्नुहुन्छ नि त्यति भनेपछि, मैले नाम भन्नु परेन ।’
पर्यटनलाई लिएर पोखरामा रहेका चिन्ता र कौतुहलतालाई सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ नामक प्यानल डिस्कसनले धेरै हदसम्म दूर गरेको पनि उनले बताए ।
सुनौलो नेपालले पोखराको माउन्ट कैलाश रिसोर्टमा शुक्रबार ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ नामक प्यानल डिस्कसन आयोजना गरेको थियो । सो कार्यक्रममा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले सहभागिता जनाएका थिए ।